गण्डकी : तनहुँको आबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले खानेपानी सँगै सेप्टिक ट्याङ्की सफाइ सेवा पनि प्रदान गर्दै आएको छ । समितिले कसैको शौचालयको सेप्टिक ट्याङ्की भरिएको खण्डमा खाली गरेर बिसर्जन गर्ने गरिएको छ ।
आफ्ना उपभोक्तालाई १० प्रतिशत छुट दिएर सेवा दिदै आएको समितिले गैर उपभोक्तालाई भने ५ हजार रुपैयाँ सेवा शुल्क लिदै आएको समितिका अध्यक्ष नस्तुराम कँडेलले बताउनुभयो ।
अध्यक्ष कँडेलका अनुसार समितिले गोरखा, डुम्रे, बेसीसहर, मुग्लिन, कुरिनटार लगायतको ठाउँमा पनि सेप्टिक ट्याङ्क सरसफाइ सेवा दिदै आएको छ । आबुखैरेनी बजार भन्दा बाहिर जाँदा प्रति किलोमिटर सय रुपैयाँ थप गरी शुल्क लिदै आएको छ ।
‘हामी सँग सेप्टिक ट्याङ्क खाली गर्ने एउटा ट्याङ्कर छ । उपभोक्ताको सेप्टिक ट्याङ्की खाली गरेर ल्याएपछि बस्ती भन्दा टाढा एउटा स्लज ड्रईङ बेड छ, त्यसैमा बिसर्जन गर्ने गरिएको छ’ उहाँले भन्नुभयो ।
आफ्ना उपभोक्तालाई खानेपानी सँगै सरसफाइ सेवा प्रदान गर्न सकेमा सहज हुने हेतुले यो सेवा सुरुवात गरिएको र खानेपानी उपभोक्ता बाहेक बाहिर समेत यसको माग आएकाले सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो । ‘एउटा सेप्टिक ट्याङ्क खाली गर्न लाग्ने शुल्क ५ हजार रुपैयाँ हो । त्यसमा १० प्रतिशत छुट गरी हाम्रो उपभोक्तालाई ४ हजार रुपैयाँमा सेवा दिदै आएका छौं’ उहाँले भन्नुभयो ।
आबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आबुखैरेनी गाउँपालिकाको वडा नं. २ र ३ तथा गोरखा नगरपालिकाको वडा नंं. १३ मा गरी १ हजार ९८ घरपरिवारका करिब १५ हजार उपभोक्तालाई चौबीसै घण्टा खानेपानी वितरण गरिरहेको छ ।
सेप्टिक ट्याङ्की सरसफाइको काम कतै कतै गाउँपालिका तथा नगरपालिका आफैले गर्दै आएको छ । कतै भने निजी क्षेत्रले यो सेवा प्रदान गर्दै आएका छन् । घना बस्ती रहेको तराईका कतिपय स्थानीय तहमा भने एउटै क्षेत्रले मात्र सम्भव नभए पछि निजी क्षेत्र र स्थानीय तह दुवैले यो सेवा दिदै आएका छन् ।