हुम्ला : मर्यादित महिनावारी व्यवस्थापन बारे सचेतना जगाउने उद्देश्यले हुम्ला जिल्लाको सिमकोट गाउँपालिकामा सांगीतिक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस २०८० को अवसरमा ‘महिनावारी हुँदा पर होइन घर’ भन्ने नाराका साथ सिमकोटको मानसरोवर क्याम्पसमा सांगीतिक महोत्सव आयोजना गरिएको हो ।
सवैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा),Good Neighbors International/KIRDARC/SIDC र आधार नेपालको को आर्थिक सहयोगमा सिमकोट गाउँपालिकाले आयोजना गरेको सांगीतिक कार्यक्रममा गायिका सुनिता बुढा क्षेत्री र खेम सेञ्चुरीको स्वर, नेत्र अर्यालको रचनामा महिनावारी सम्बन्धी गीतको भिडियो लोकार्पण समेत गरिएको थियो । कार्यक्रममा कलाकार सुनिता बुढाको विशेष प्रस्तुति र स्थानीय देउडा गीत, नाटक तथा नृत्य प्रतियोगोगिता सञ्चालन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले महिनावारी वा रजस्वला किशोरी तथा महिलाहरुको शरीरमा प्रजनन स्वास्थ्यसँग सम्वन्धित नियमित, आधारभूत एवं प्राकृतिक प्रकृया भएको बताउनुभयो । ‘जसरी स्वास लिनु, निदाउनु, खाएको कुरा पचाउनु र मलमुत्र त्याग गर्नु नियमित शारीरिक प्रकृया हुन् त्यसैगरी महिनावारी हुनु नितान्त शारीरिक प्रकृया हो’ उहाँले भन्नुभयो ।
उहाँले कानुनतः र विभिन्न सामाजिक कुरीति र अन्धविश्वास अन्त्य गर्ने, गराउने भनी स्पष्ट ब्यवस्था भएकोले छाउका नाममा कोही कसैले पनि विभेद गर्न नपाउने बताउनु भयो ।
महिनावारी प्राकृतिक प्रक्रिया भएपनि कुनै समाजमा यसलाई अपवित्र तथा अछुतको रुपमा लिने गरिएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले समाजमा महिनावारीसँग जोडिएका यस्ता कुसंस्कारहरु हटाउन सांगीतिक कार्यक्रमले पनि सघाउ पुग्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधीहरुले छाउपडी प्रथाजन्य उन्मुलनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रम सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।