राष्ट्रपतिले उद्घाटन गरेको सार्वजनिक धाराको यो हालत (फोटो फिचर)

  वास खबर सम्वाददाता  604 पटक हेरिएको

काठमाडौ : मेलम्चीको पानी पहिलो पटक काठमाडौ उपत्यकामा ल्याएर वितरण गर्दा सरकारले भृकुटीमण्डपमा तीन धाराको निर्माण गरेको थियो । उक्त सार्वजनिक धाराको पानी खोलेर तत्कालीन राष्ट्पति विद्यादेवी भण्डारीले २०७७ साल चैत्र २० गते शुक्रबार उद्घाटन गरी मेल्म्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गर्नुभएकोे थियो ।

तत्कालीन राष्ट्रपति भण्डारीले तामझामका साथ उद्घाटन गर्नुभएको तीन धारा अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयोग्य नभएको कुरा विभिन्न सञ्चारमाध्यमले उठाएपछि त्यस्ता व्यक्तिका लागि समेत पहुँचमार्ग बनाईएको थियो ।


धाराको नजिकै होटल व्यवसाय गर्दै आउनुभएका अछाम साँफेबगरका बिष्णु बोगटी भन्नुहुन्छ ‘यो धाराले गर्दा धेरै सर्वसाधारणले पनि पानी पिउन पाएका थिए ।’ उहाँका अनुसार सुरुको केही समय धारामा पानी आएपनि त्यसपछि आउन छोडेको हो । मेलम्चीको महँगो पानीको दुरुपयोग भयो भन्ने गुनासा उठिरहेकाले मेलम्ची सँग सम्बन्धित संस्थाले नै बन्द गरेको हुनसक्ने उहाँको आशंका छ ।

भृकुटीमण्डपमा विभिन्न प्रदर्शनी, मेला, महोत्सव समेत हुँदै आएको छ । त्यहाँ पुग्ने धेरै सर्वसाधारणको खानेपानीमा निःशुल्क पहुँच स्थापित भएको थियो । धारामा पानी नै आउन छाडेपछि तत्कालीन राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको ऐतिहासिक सार्वजनिक धारा उपयोगबिहीन भएको छ ।


विभिन्न कलाकृतिले भरिएको उक्त धारा धेरैको दृष्टि नपर्ने ठाउँमा सीमित भएको छ । जुत्ता मेलाले कब्जा गरेजस्तै गरी बनाएको स्टलले ऐतिहासिक धारा छोपिन लागेको छ भने बीचको धाराको टुटी पनि भाँचिएको छ ।

मेलम्चीको पानी सर्वप्रथम २०७७ साल चैत्रमा अस्थायी रूपमा काठमाडौ उपत्यकामा वितरण गरिएको थियो । त्यसपछि दोस्रो पटक २०७८ चैत्रदेखि २०७९ जेठ १९ गतेसम्म वितरण गरिएको थियो । मेलम्चीको पानी अहिले तेस्रो पटक वितरण भईरहेको छ । मेलम्ची खानेपानी विकास समितिले हेडवर्क्समा केही नयाँ संरचना निर्माण तथा सुरुङमा रेक्टोफिटिङ्को काम समेत सम्पन्न गरेकाले सामान्य बाढीको समयमा पानी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना नहुने जनाएको छ ।

काठमाडौमा मेलम्ची पानी वितरण भईरहँदा भृकृटीमण्डपमा तत्कालीन राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको धारामा पनि पानी पठाउनु पर्ने धारा अगाडि नै भेटिनुभएका मोरङ शनिश्चरेकी बिमला पोखरेलले बताउनुभयो । बोतलको पानी किन्न नसकेर प्यास सहदै हिड्नुपर्ने मानिसका लागि सार्वजनिक धारा अनिवार्य हुनुपर्ने उहाँले बताउनुभयो ।


‘म त भन्छु, काठमाडौको धेरै ठाउँहरु, जहाँ सर्वसाधारणको भीड लाग्ने गर्छ, त्यस्ता ठाउँमा सरकारले पिउनयोग्य पानी वितरण गर्नुपर्छ । अनि मात्र संविधान प्रदत्त मौलिक हकको प्राप्तिको अनुभूति गर्न पाउनेछन्’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार