‘पत्यारो लागेको थिएन, आँगनकै धारामा पानी आएपछि नपत्याएर भो ?’

  वास खबर सम्वाददाता  554 पटक हेरिएको

सुर्खेत : भालेको डाकमा आँखा मिच्दै खाली गाग्री बोकेर पाल्टा खोला धाउन विवश गुराँस गाउँपालिका २ की रुण नेपालीको दैनिकी हिजो आज बदलिएको छ । आँगनमै बनेको धारामा पानी आउन थालेपछि बल्ल आनन्दको निद्रा पर्न थालेको छ । पानीको समस्याले आधा निद्रामै खोला धाउनुपर्ने बाध्यताबाट गुराँस गाउँपालिकाको गल्सेना र डुँडापोखराका ७० घरपरिवारले मुक्ति पाएको हो ।


हेल्भेटास नेपाल र गाउँपालिकाको लागत साझेदारी एवं सोसेक नेपालको प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानबाट घरघरै निर्माण भएको धारामा पानी आउन थाले पछि बर्षौदेखिको खानेपानीको दुःख सधैंका लागि अन्त्य भएको हो ।

डुडापोखरा सोलार लिफ्टिङ खानेपानी तथा सरसफाइ योजना निर्माण सम्पन्न गर्न गुराँस गाउँपालिकाले ११ लाख ७४ हजार रुपैयाँ हेल्भेटास नेपालले वस्तुगत र नगद गरी २९ लाख रुपैयाँ लगानी गरेका छन् । सोसेक नेपालले प्राविधिक सहयोग र स्थानीयबासिन्दाले १० लाख ३९ हजार रुपैयाँ बराबरको श्रमदान गरेको गाउँपालिका अध्यक्ष टोप बहादुर जिसीले बताउनुभयो ।


खानेपानी ल्याईदिने आश्वासनले वाक्क दिक्क भईसकेका डुडापोखराका बासिन्दाले सुरुमा खानेपानी ल्याउने कुरा पत्याएकै थिएनन् । त्यसैमाथि वस्ती भन्दा निकै तलतिर रहेको पानी ल्याएर वितरण गर्ने कुरा त झन उहाँहरुको कल्पना भन्दा टाढाको कुरा थियो । सोलार लिफ्टिङ गरी घरघरमै धारा पुर्‍याएपछि अहिले सबै जना खुसी हुनुभएको छ ।

‘पहिले पत्यारो लागेकै थिएन, आँगनमै बनेको धारामा पानी झरेपछि त पत्याउनै पर्‍यो’ डुडापोखराकी रुण नेपालीले भन्नुभयो ।


७० घरधुरी रहेको डुडापोखरा र गल्सेनामा ६५ घर दलित समुदायका मात्र छन् । पानीका लागि हार गुहार गर्दा पनि कसैले नसुनेको वस्तीमा हेल्भेटासको आँखा परेपछि आफूहरुको सुखको दिन फिरेको डुडापोखराकी तुलसी नेपालीले बताउनुभयो ।

उहाँको मुहारमा झल्किने खुसीको भावले जिन्दगीको सबैभन्दा खुसी खानेपानीले मिलेको आभाष हुन्थ्यो । ‘खानेपानीको अभावमा दुःख झेल्दै आएका हामी महिलाहरुले बल्ल सुखको सास फेर्न पाएका छौं’ तुलसीले भन्नुभयो ‘जहाँ खोला त्यही पानी खोज्दै जानु पर्थ्यो । पानी पाउँदा २ घण्टा नत्र तीन चार घण्टा पनि लाग्थ्यो, अहिले आँगनमै धारा बनेर हाइसन्चो भएको छ ।’


गाउँपालिका अध्यक्ष टोप बहादुर जिसीले पानीको अभावमा तड्पिएको सुख्खा क्षेत्र र पछाडि परेको समुदायको बाहुल्य रहेको वस्तीलाई पहिलो प्राथमिकता दिएर खानेपानीको लागि छनौट गरिएको बताउनुभयो । विकास साझेदारको सहयोगमा खानेपानी योजना पूरा गरेर उदघाटन गर्न पाउँदा ठूलो सन्तुष्टि मिलेको उहाँको भनाइ छ ।

डुडापोखरा सोलार लिफ्टिङ खानेपानी तथा सरसफाइ योजनाको हालै मात्र उदघाटन गरिएको हो ।

अध्यक्ष जिसीले एक घर एक धारा पुर्‍याउने गाउँपालिकाको अभियानमा साथ दिने विकास साझेदार, स्थानीय गैरसरकारी संस्थालाई धन्यबाद व्यक्त गर्नुभयो । उहाँले ‘घरघर धारा गुराँस सरकारको अभिभारा’ भन्ने गाउँपालिकाको नारालाई सार्थक बनाउन सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार