सिसी क्यामेरा, फोहोर व्यवस्थापनमा प्रभावकारी बन्दै

  वास खबर सम्वाददाता  591 पटक हेरिएको

भक्तपुर : सिसी क्यामेरा फोहोर व्यवस्थापनमा समेत प्रभावकारी बन्दै गएको छ । जथाभावी फोहोर फाल्ने व्यक्तिको सिसी क्यामेराद्वारा निगरानी बढाउन थालेपछि फोहोर फाल्ने क्रम नियन्त्रण भएको हो ।

चाँगुनारायण नगरपालिकाले फोहोर फालेको स्थानमा सिसी क्यामेरा जडान गरी फोहोर फालेमा हुने कानुनी सजाय सम्बन्धी व्यवस्था पनि टाँस गरेपछि फोहोर फाल्ने क्रम रोकिएको हो । नगरपालिकाले स्वच्छ वातावरण कायम गर्नका लागि फोहोरमैला व्यवस्थापन, सरसफाइ, वृक्षरोपण जस्ता कार्यक्रम गर्दै आएको र जथाभावी फोहोर फाल्ने क्रमलाई नियन्त्रण गर्न सिसी क्यामेरा जडान गरिएको नगरपालिकाको वन वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक एवं वडा नं. २ का अध्यक्ष सोम प्रसाद प्रधानले बताउनुभयो ।

उहाँले नगरपालिकाले वातावरण संरक्षणको कामलाई महत्व दिदै आएको र यस अन्तर्गत फोहोर व्यवस्थापन सम्बन्धी जन चेतनामूलक कार्यक्रम, सार्वजनिक स्थानको सरसफाइ, खोलानाला सफाइ, वृक्षरोपण जस्ता कामहरु भईरहेको बताउनुभयो ।

नगरपालिकाले वातावरण संरक्षणको क्षेत्रमा गरिरहेको कामले सकारात्मक परिणाम दिन थालेको छ । नागरिक स्तरमा सञ्चालित जनचेतनामूलक कार्यक्रमहरुबाट जथाभावी फोहोर फाल्ने बानी नियन्त्रण हुँदै गएको र सार्वजनिक स्थानको सरसफाइ कार्यक्रममा समेत विभिन्न संघसंस्था र नागरिक सहभागिता बढ्दै गएको उहाँले बताउनुभयो ।

नगरपालिका भित्रको सफाइको लागि राष्ट्रको लागि २ घण्टा अभियान वडा नंं २ बाटै सुरुवात भएको र यो नगरव्यापी बनाईने अध्यक्ष प्रधानले बताउनुभयो ।

वातावरण संरक्षणकै पक्षमा नगरपालिकाले बनाएको अर्को नियम हो ‘नयाँ घर बनाउँदा २ वटा फलफूलको विरुवा अनिवार्य रोप्नुपर्ने ।’ यो नियमको कार्यान्वयनबाट चाँगुनारायण नगरपालिकालाई स्वच्छ, सफा र पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने अभियानमा सघाउ पुग्ने अपेक्षा गरिएको अध्यक्ष प्रधानले बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाले ‘सफा सुग्घर घर आँगन सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ चाँगुनारायणको माटो’ भन्ने नाराका साथ नगरपालिकाभित्र उत्पादन हुने ठोस फोहोरमैलाको व्यवस्थापन, दिसाजन्य लेदो व्यवस्थापन, हातधुने बानीको विकास, हरियाली प्रबर्द्वन जस्ता पक्षलाई समुदाय, सार्वजनिक स्थल, विद्यालय र स्वास्थ्य संस्थामा एकैसाथ अगाडि बढाईरहेको छ ।

हामीले चाँगुनारायण नगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक एवं वडा नं. २ का अध्यक्ष सोम प्रसाद प्रधानसँग वातावरण संरक्षणको क्षेत्रमा नगरपालिकाको समग्र कार्यक्रम, यसले पारेको प्रभाव र आगामी योजनाका बारेमा कुराकानी गरेका छौं ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार