१ करोड ८० लाखमा बन्ने शौचालयको मेयर पाण्डेयद्वारा शिलान्यास

  वास खबर सम्वाददाता  534 पटक हेरिएको

रुपन्देही : बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्कमा नुहाउने सुविधा सहितको सुविधा सम्पन्न शौचालय निर्माण गर्ने भएको छ । १ करोड ८० लाख ८४ हजार लागतमा निर्माण गर्न लागेको शौचालयको उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले शिलान्यास गर्नुभयो ।

बसपार्कलाई स्तरीय, सुविधा सम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकसित गर्ने उदेश्यले बसपार्कमा उज्यालोका लागि २ वटा हाइमास्ट लाइट, स्तरीय क्यान्टिन, कोशेली घर, ७ तले कार पार्किङ भवन, सुविधा सम्पन्न शौचालय र विश्रामस्थल बनाउन लागेको नगर प्रमुख पाण्डेयले बताउनुभयो ।

३० वटा शौचालय कक्ष, १० वटा स्नान गृह र विश्रामस्थल रहने शौचालयमा महिलाहरुका लागि सेनेटरी प्याड, बालबालिका हेरचाहका लागि उपयुक्त स्थल समेत रहने योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले जानकारी दिनुभयो । वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठले बसपार्कलाई सुधार गर्दै स्तरीय बनाउनका लागि स्थानीयको समेत साथ र सहयोग आवश्यक हुने बताउनुभयो ।

आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने सिभिल विल्डर्स एण्ड इन्जिनियरिङ कन्ट्रक्सनका सञ्चालक रामु ज्ञवालीले बताउनुभयो ।

बसपार्कलाई सफा र व्यवस्थित राख्नका लागि यातायात व्यवसायी र मजदुरहरुले पनि उत्तिकै चासो दिन वडा अध्यक्ष श्रेष्ठको आग्रह छ । बुटवललाई सफा, सुन्दर र हरियाली शहर बनाउनका लागि नगरले निरन्तर अभियान सञ्चालन गरेको र यसमा जनसहभागिता तथा संघसंस्थाहरुले समेत यसलाई प्राथमिकताका साथ चासो दिएमा बुटवल उदाहरणीय शहर बन्ने मेयर पाण्डेयले बताउनुभयो ।

उहाँले नयाँ बसपार्क सुधार तथा व्यवस्थापनमा नगरले निरन्तर काम गरिरहेको बताउँदै बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि चरणबद्ध योजना बनाएको बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार