कयौं प्रयासपछि चुरे स्थित दोङखोरियामा डिपबोरिङबाट पानी निकाल्न सफल

  वास खबर सम्वाददाता  593 पटक हेरिएको
🔗
40
Shares

प्रतिनिधिमूलक फोटो

सर्लाही : सर्लाहीको उत्तरी चुरे भेगस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथान दोङखोरियामा पहिलो पटक डिप बोरिङबाट पानी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम अन्तर्गत १७८ मिटरको डिप बोरिङ गाडेर डेढ इन्चको पाइपमा पानी निकालिएको हो । घारिबथानमा यसअघि पटक पटक डिप बोरिङ गाडेर भूमिगत पानी निकाल्ने प्रयास गरिए पनि सफल हुन सकेको थिएन । ईश्वरपुर–१२ का वडाध्यक्ष देवीबहादुर खत्रीले डिप बोरिङबाट पानी आएपछि गाउँले खुसी भएका जानकारी दिनुभयो । “यसअघि वडाका विभिन्न स्थानमा डिप बोरिङ धसाएर पानी निकाल्ने प्रयास गरियो तर सफल हुन सकेनौँ, यो पटक भने पानी निस्किएको छ,” उहाँले भन्नुभयो, “खानेपानीको सधैं अभाव हुने यहाँका बासिन्दा डिप बोरिङबाट पानी आउँदा दङ्ग छन् ।”

शुक्रबार बिहान डिप बोरिङबाट पानी आएपछि गाउँलेको भिड लागेको स्थानीय दिलीपकुमार बुढाथोकीले बताउनुभयो । सुक्खा क्षेत्रमा पर्ने घारिबथानमा वर्षौंदेखि खानेपानीको दुःख छ । दोङखोरियामा सुरुमा सिँचाइका लागि भनी डिप बोरिङ गाडिएको थियो । खन्दै जाँदा सिँचाइका लागि आवश्यक पर्ने पर्याप्त पानी नरहेको भन्दै बिचमै डिप बोरिङ खन्ने काम रोक्न थालिएको थियो ।

डिप बोरिङ निर्माणको ठेक्का पाएको रेश्मा डिप बोरिङ ट्युबेल उद्योग विराटनगरका प्रतिनिधि सुनिल कार्कीले स्थानीयवासीले जत्रै पानी आए पनि बोरिङ खनिदिन आग्रह गरेपछि तत्कालका लागि डेढ इन्चको पाइपमा पानी निकालिएको जानकारी दिनुभयो । “स्थानीयको आग्रह अनुसार हामीले पानी निकालिदिएका छौँ । कुन प्रयोजनमा प्रयोग गर्ने भन्ने गाउँलेको जिम्मा हो,” उहाँले भन्नुभयो ।

समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम जावलाखेल, ललितपुरका हाइड्रोजियोलोजिस्ट अर्पण पराजुलीले पानी निकाल्ने काम सफल भएको र अब कार्यालयका तर्फबाट पम्प, प्यानल बोर्ड लगायत राख्ने घर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरिने बताउनुभयो । “हामीले सिँचाइको क्षेत्रमा काम गर्ने हो, यहाँ सिँचाइकै लागि भनेर बोरिङ गाड्दा पर्याप्त पानी भेटिएन,” उहाँले भन्नुभयो, “गाउँलेले अहिले निस्किएको पानी खानेपानीका लागि प्रयोग गर्छौं भन्नुभएको छ । व्यावहारिक हिसाबले पनि पहिलो प्राथमिकता खानेपानीले नै पाउँछ ।” यो खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।

अहिले निस्किएको पानी सिँचाइका लागि पर्याप्त नहुने भएकाले पिउने पानीकै लागि उपयुक्त हुने पराजुलीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बलरा नगरपालिकामा तीन करोड रुपियाँ बजेटबाट १६ वटा डिप बोरिङ गाडिँदै छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार