मेलम्चीको पानीको माग गर्दै रित्तो भाँडो प्रदर्शन

  वास खबर सम्वाददाता  792 पटक हेरिएको

ललितपुर :  मेलम्चीको पानी वितरण गर्नुपर्ने माग गर्दै पाटनमा रित्तो भाँडा प्रदर्शन गरिएको छ । उपत्यका संघर्ष समितिले आज पाटन दरबार क्षेत्रमा पानीमारा राजनीतिक पार्टी मुर्दावाद जस्ता प्लेकार्ड तथा रित्तो भाँडा प्रदर्शन गरेको हो ।

काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन पहल नगरेको भन्दै उपभोक्ताहरुले संघर्ष समिति नै गठन गरेर एक महिनादेखि नियमित जसो प्रदर्शन गर्दै आएका छन्  ।

रित्ता गाग्री सहित प्रदर्शनमा उत्रिएका उपभोक्ताले मेलम्चीको पानी तुरुन्त खोल, ए सरकार पानी दे, पानीमा चलखेल तुरुन्त बन्द गर जस्ता नारा लेखिएका पोस्टर र प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मेलम्ची राष्ट्रिय गौरवको आयोजना भए पनि सरकारले आयोजना पूरा नगरेका कारण आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिले जनाएको छ ।

मनसुन सुरु हुनुअघि मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको छैन । जसले गर्दा काठमाडौंमा उपभोक्ताहरु पिउने पानीको समस्यामा छन् ।

सरकारले माघ १ गते मेलम्चीको पानी काठमाडौ उपत्यकामा बितरण गर्ने गरी काम भईरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार