भूकम्पले मूल सुकेपछि भेरीको पानीले गुजारा चलाउँदै

  वास खबर सम्बाददाता  250 पटक हेरिएको

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी पूर्णकला रानालाई यतिबेला खानेपानीको जो हो कसरी गर्ने भन्ने पिरालोले सताइरहेको छ । रिम्नाको डाँडागाउँमा धारामा पानी नआउँदा पिउन, शौचालयमा प्रयोग गर्न, सरसफाइ गर्न र पशुचौपायालाई खुवाउन समेत पानीको हाहाकार छ । पानी जुटाउन निकै समस्या भइरहेको उहाँले गुनासो गर्नुभयो । बिहान बेलुका खानेपानी जुटाउँदैमा समय बित्छ उहाँले भन्नुभयो ‘चर्पीमा लिने पानी नहुँदा जंगलमा खुल्ला शौच गर्न बाध्य छौं ।’

जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पले मुहान सुकेपछि जिल्लाको भेरी नगरपालिका–१ रिम्ना गाँउमा खानेपानीको हाहाकार भएको हो । गाउँदेखि माथि रहेको बुदबुदी खानेपानी मुहानको पानी भूकम्पका कारण भासिएपछि धारामा पानी आउन छोडेको हो । उक्त मुहानको खानेपानी बन्द भएपछि स्थानीय एक घण्टा टाढा रहेको भेरी नदीको पानीले गुजारा चलाउन बाध्य छन् ।

उकालो बाटोमा पैदलै बोकेर धेरै पानी ल्याउन सकिँदैन गाग्रीमा बोकेको पानीले आफू प्रयोग गर्ने कि पशु चौपायालाई खुवाउने ? बढो समस्या भयो । भूकम्पले घर र चर्पी दुवै भत्किएपछि त्रिपालमा बसाइँ सरेको छ । अस्थायी चर्पी भए पनि पानी नहुँदा प्रयोग विहीन छन् । धेरैजसो स्थानीय खुला जंगलमा गएर दिसापिसाब गर्न थालेका छन् स्थानीय दिलिप रानाले भन्नुभयो, ‘भूकम्पपछि त्रिपालको बसाइँ, हिउँदको चिसो त्यहीमाथि खानेपानीको निकै समस्या छ ।’ खानेपानी समस्याकै कारण सरसफाइको अभावले पखाला, रुघाखोकी, टाइफाइड लगायतका समस्या देखिन थालेका छन् ।

रिम्ना गाउँमा डेढ सय घरपरिवार छन् । तल्लो भेग जहाँ बजार क्षेत्र पर्छ त्यहाँ नदी नजिकै पर्ने भएकाले त्यति समस्या नभए पनि अलि माथि डाँडाटोलमा करिब ३० घर परिवारका लागि पानीको निकै समस्या रहेको वडा सदस्य प्रजित रानाले बताउनुभयो । रिम्ना बजारमा रहेको भेरी त्रिवेणी माध्यमिक विद्यालयमा पनि खानेपानीको समस्या रहेको प्रधानाध्यापक प्रेमबहादुर पुनले बताउनुभयो । ४५० विद्यार्थी रहेको उक्त विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीलाई निकै समस्या भएको छ ।

खानेपानी नहुँदा सबैभन्दा शौचालय प्रयोगमा समस्या देखिएको छ । भूकम्पले विद्यालय, शौचालय र खानीपानीका ट्यांकी भत्किएपछि अहिले केही संघसंस्थाको सहयोगमा बनाइएका अस्थायी सिकाइ केन्द्रमा पढाइ भइरहेको भए पनि खानेपानी र शौचालयमा कसैले ध्यान नदिँदा समस्या भएको प्रधानाध्यापक पुनले बताउनुभयो । विद्यालयमा आउने पानीको मुहान नै भासिएपछि खानेपानीको समस्या भएको उहाँले बताउनुभयो।

त्यस्तै सोही वडाको कोलचौर गाँउमा पनि भूकम्पपछि खानेपानीको निकै समस्या देखिएको छ । करिब अढाइ सय घरधुरी रहेको कोलचौरमा आपूर्ति हुँदै आएको खक्सेनी खोलाको पानीको मुहान भूकम्पपछि सुकेको छ । पानी भासिएपछि धारामा पानी आउँदैन निकै समस्या भयो स्थानीय देवी चनाराले भन्नुभयो । खानेपानी नहुँदा निकै समस्या छ । एक गाग्री पानी लिन घण्टौं समय लाग्छ ।

‘पानी नहुँदा सरसफाइ गर्न, शौचालय लिन र वस्तुभाउ ९गाईभैंसी०लाई खुवाउन पनि निकै समस्या भयो,’ उहाँले भन्नुभयो ‘सबैले अस्थायी आवास मात्र भन्छन् । अस्थायी आवास पनि अहिलेसम्म बन्न सकेका छैनन् । बन्दैछन् तर शौचालय र खानेपानीको समस्या समाधानमा कसैले चासो दिँदैनन् तर समस्या ठूलो छ ।’ सोही वडाको रिठापानी गाउँमा पनि खानेपानीको निकै समस्या देखिएको स्थानीयको भनाइ छ ।

रिठापानी गाँउमा २० घरधुरी छन् । त्यस गाउँका मानिसले प्रयोग गर्दै आएको जस्यापानी मुहान पनि सुक्न थालेको छ । ट्यांकी चर्किएपछि धारामा पानी आउन छोडेको छ । जसका कारण खानेपानीको निकै समस्या रहेको स्थानीय लोककुमारी विकले बताउनुभयो। गाउँमा खानेपानी नहुँदा निकै समस्या परिरहेको उहाँले बताउनुभयो । भूकम्पपछि भेरी नगरपालिका वडा नम्बर १, २ र ३ का धेरै मुहान सुकेका छन् ।

नलगाड नगरपालिका वडा नम्बर ४ र ५ मा भने धेरै ठाँउमा मूल फुटेको वडाध्यक्ष बद्री पन्तले बताउनुभयो। उहाँले नलगाड नगरपालिकामा केही ठाँउमा मूल फुटेको र केही ठाँउमा पानीका मूल सुकेपछि खानेपानीको अभाव देखिएको बताउनुभएको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले अझै पनि के कति क्षति भएको छ भन्ने एकिन तथ्यांक दिन सकेको छैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार