काठमाडौं : संघीय सरकारले पूर्ण सरसफाइको अभियान सञ्चालन गर्ने तयारी गरेको छ । बुधबार काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव तिरेश खत्रीले खुला दिसामुक्त अभियानको गतिमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्ने र सोका लागि आवश्यक नीति तथा कानुनको तयारी गरिरहेको जानकारी दिनुभयो ।
नेपालमा सञ्चालित वास एसडिजी परियोजनाको सिकाइबारे खानेपानी मन्त्रालयको समन्वय र प्लान इन्टरनेशनल नेपाल, एसएनभी नेपाल र सिमावीले आयोजना गरेको कार्यक्रममा सहसचिव खत्रीले क्षेत्रगत विकास योजना तयार भई पारित गर्नका लागि क्याबिनेटमा पठाउने तयारी भइरहेको बताउनुभयो ।
“दिगो विकास लक्ष्यले लिएको खानेपानी, सरसफाइ तथा स्वच्छताको लक्ष्यलाई हासिल गर्नका लागि पूर्ण सरसफाइ अभियान सञ्चालन गर्ने र यसका लागि अवधारणापत्र तयार गरी मन्त्रिपरिषद्मा पठाइसकिएको छ”, सहसचिव खत्रीले भन्नुभयो, “क्याबिनेटले पारित गर्नासाथ यसलाई कार्यान्वयनमा ल्याउने मन्त्रालयको तयारी छ ।”
साधन श्रोतको कमी
दिगो विकास लक्ष्यले लिएको खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था हासिल गर्नका लागि कूल कति बजेट आवश्यक हुन्छ भन्ने कुरा अझै पनि निक्र्योल भएको छैन । नेपाल संघीयतामा रुपान्तरणपश्चात् खानेपानी र सरसफाइ स्थानीय सरकारको एकल अधिकारको विषय भएकोले स्थानीय तहले नै गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउने दायित्व संविधानले नै निर्दिष्ट गरिसकेको सन्दर्भमा स्थानीय तहले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) तयार गरेपश्चात्मात्र देशभर कुन सूचकमा कति काम गर्न बाँकी छ भन्ने कुरा पहिचान हुन्छ । अहिलेसम्म १७० स्थानीय तहले मात्र वास प्लान तयार गरी कार्यान्वयनको थालनी गरेका छन् ।
“सबै स्थानीय तहको एकीकृत तथ्यांक प्राप्त नभए पनि अहिलेसम्म प्राप्त तथ्यांक अनुसार सरकारले कूल ग्राहस्थ उत्पादनको पाँच प्रतिशत लगानी यस क्षेत्रमा गर्नुपर्नेमा त्यो हुन सकेको छैन”, सहसचिव खत्रीको भनाइ छ, “अहिलेको लगानी भनेको एक प्रतिशतभन्दा पनि कम छ ।”
सरकारी प्रयासले मात्र खानेपानी, सरसफाइ तथा स्वच्छताको दिगो विकास लक्ष्य हासिल गर्न नसक्ने भएकोले विकास साझेदार समेतको सहयोगमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । “सबै सरोकारवालाको सामुहिक र एकीकृत प्रयासका लागि आवश्यक ऐन निर्माण भई कार्यान्वनमा रहेको र नियमावली समेत पारित गर्नका लागि मन्त्रालयबाट क्याबिनेटमा पठाउने तयारी भइरहेको छ”, उहाँको भनाइ छ, “सबै ऐन कानुन र नीतिको निर्माणले बहुक्षेत्र परिचालनका लागि समेत सहज वातावरण सृजना गर्दछ ।”

बहुक्षेत्रमा प्रभाव
खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा गरिने लगानीले बहुक्षेत्रमा प्रभाव देखिने भएकोले पनि यस क्षेत्रमा सरकारहरुले लगानी बढाउनुपर्ने सरोकारवालाहरुको धारणा रहेको छ ।
सिकाइ आदानप्रदानका लागि आयोजना गरिएको कार्यशालामा खानेपानी मन्त्रालयका सहसचिव तिरेश खत्रीले दिगो विकास लक्ष्यमा समावेश गरिएका धेरै लक्ष्यहरुले खानेपानी, सरसफाइ तथा स्वच्छताले सहयोग पु¥याउने बताउनुभयो । “स्वास्थ्यमा सुधार, बाल मृत्युदर न्यूनीकरण, घरायसी तहमा कामको बोझको सन्तुलन, विद्यालय शिक्षामा सुधार, महिला सशक्तीकरण, स्थानीय साधन श्रोतको पहिचान र परिचालन लगायतका क्षेत्रमा समेत यसले सहयोग पुर्याउँछ”, उहाँले भन्नुभयो, “समग्रमा यस क्षेत्रमा गरिने लगानीले उत्पादन र उत्पादकत्व वृद्धि गर्दछ ।”

खानेपानी तथा सरसफाइलाई मूलप्रवाहीकरण गर्दै स्थानीय तह
सन् २०१८ देखि नेपालमा सुरु भएको खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य परियोजनाको अवधि आउँदो महिना सम्पन्न हुँदैछ । यसै सन्दर्भमा, एकअर्काका सिकाइ तथा नतिजाहरु प्रस्तुती र छलफलका लागि आयोजना गरिएको कार्यक्रममा विभिन्न स्थानीय सरकारका प्रतिनिधिहरुले समेत आफूहरुले गरिरहेका प्रयासको बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा आयोजना गरिएको प्लानल छलफलमा गढी गाउँपालिका, सुनसरीका अध्यक्ष आशनारायण चौधरीले स्थानीय तहमा साधन श्रोतको कमी भए तापनि पूर्ण सरसफाइ अभियानको निरन्तरताका लागि स्थानीय सरकारले वास च्याम्पियनहरुको परिचालनलाई निरन्तरता दिएको, वास प्लानको कार्यान्वयनका लागि आवश्यक एकीकृत कानुनहरुको निर्माण गरेको र सफा स्वच्छ क्षेत्र घोषणालाई निरन्रतता दिएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा सरसफाइ महाशाखा प्रमुख समितप्रताप सिंहले समावेशी योजना तर्जुमामा जोड दिंदै उपमहानगरले दिसाजन्य लेदो व्यवस्थापन र ठोस फोहरमैला व्यवस्थापनका लागि सेनिटरी ल्यान्ड फिल साइट निर्माण गरिरहेको बताउनुभयो । उहाँले, सरसफाइ तथा स्वच्छता व्यवहार परिवर्तनका लागि सञ्चार रणनीति समेत तयारीको अन्तिम चरणमा रहेको बताउनुभयो ।
भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले सरसफाइ तथा स्वच्छता क्षेत्रको मजबुतीकरणका लागि नीति बनाएर थालनी गरेकोमा अहिले वास प्लनको तयारी र शाखा नै स्थापना गरी प्राविधिक र गैरप्राविधिक कर्मचारीको समेत व्यवस्था गरेको जानकारी दिनुभयो । “हामीले नगरपालिकाभित्र आवश्यक संस्थागत एवम् कानुनी व्यवस्था गरिसकेका छौं”, उहाँले भन्नुभयो, “वास प्लानलाई वार्षिक योजनामा समावेश गर्न थालिएको छ भने यस वर्षलाई नगरपालिकाले सरसफाइ वर्षको रुपमा मनाउँदैछ ।” दातृ निकाय तथा विकास साझेदारको अनुपस्थितिमा समेत नगरपालिकाले सरसफाइ तथा स्वच्छतालाई महत्वका साथ अघि बढाउने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रम अन्तर्गत अर्को प्यानल छलफलमा एसएनभी नेपालका खानेपानी सेक्टर लिडर नादिरा खावजा, प्लान इन्टरनेशनल नेपालको तर्फबाट परियोजना संयोजक दुर्गा उप्रेती र वास एलायन्स इन्टरनेशनल, सिमावीका राष्ट्रिय निर्देशक मिङमा शेर्पाले परियोजनाका उपलब्धी, सिकाइ तथा सीमितताको बारेमा प्रकाश पार्नुभयो ।
यसैगरी, विभिन्न संस्थाले गरेका असल अभ्यास र सिकाइहरुको प्रदर्शनी समेत सो अवसरमा गरिएको थियो ।
सोही कार्यक्रममा वास एसडिजी परियोजना कार्यान्वयनमा ल्याउने संस्थाहरुको तर्फबाट तीन वटा पाथ वे अन्तर्गत गरिएका क्रियाकलाप र त्यसबाट हासिल भएका उपलब्धीहरुको प्रस्तुती गरिएको थियो ।
सोही अवसरमा गढी गाउँपालिकाका वास च्याम्पियन उषा चौधरी, श्री आधारभूत विद्यालय सुनकोशीका प्रधानाध्यापक धन तामाङ, सहकर्मी समाजका कम्युनिटी एजुकेटर दिपिका घिमिरे, महिला समूह सदस्य सुशीला घर्ती, एसएनभी नेपालका लेक शाख र खडक नगरपालिका सप्तरीका नगर प्रमुख जयप्रकाश चौधरीले कार्यक्रमका उपलब्धी र घटना अध्ययनहरु प्रस्तुत गर्नुभएको थियो ।
खानेपानी मन्त्रालय अन्तर्गत क्षेत्रगत क्षमता अभिवृद्धि शाखाका प्रमुख प्रभात श्रेष्ठ र सिनियर डिभिजनल इञ्जिनियर मञ्जु लामिछानेले कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा वास एसडिजी कार्यक्रमका साझेदार संस्था, कार्यक्रम सञ्चालन भएका स्थानीय तह र अन्य सहयोगी निकायहरुलाई कदर गरिएको थियो ।
कार्यक्रमका थप फोटाहरु :
(कार्यक्रममा भएका प्यानल छलफल, घटना अध्ययन र अन्य सामग्री क्रमशः प्रकाशन गर्दै जानेछौं)