
लहान : सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलमा सामुदायिक शौचालय निर्माण भएपछि खुला ठाउँमा दिसापिसाब गर्न बन्द भएको छ ।
खुट्टीखोलाको वारि र पारि दुवै किनारमा बसोबास गर्दै आएका मुसहर समुदायको लागि वाटर एड नेपाल, लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान र नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत टोलमा चारवटा सामुदायिक शौचालय निर्माण गरिएको हो।
घर नजिकै शौचालय बनेपछि जग्गा अभावका कारण आफ्नै घरमा शौचालय बनाउन नसकेका मुसहर समुदायका करिब डेढ सय भन्दा बढी घरपरिवार लाभान्वित भएका छन्।
चर्पी बनेसँगै खुट्टीखोलाको वरिपरि जताततै दिसा–पिसाब गर्ने कार्य रोकिएको र यसले वरिपरिको वातावरणमा समेत सुधार आएको मुसहर बस्तीका विजय सदायले बताउनुभयो।
शौचालय र खोपानीको अभाव देखेपछि आफ्नो क्लबले विकन परियोजना अन्तर्गत लहानका विभिन्न वडामा रहेका दलित समुदाय र विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता अभियान सञ्चालन गरी समतामूलक समाज निर्माण गर्ने उद्देश्यले गतिविधि सञ्चालन गरिएको दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश विसुङ्केले जानकारी दिनुभयो । उहाँका अनुसार हाल क्लबले २७ वटा विद्यालय र पाँचवटा दलित समुदायमा वडाको समन्वयमा शौचालय मर्मत तथा निर्माण गरिएको छ ।
शौचालय निर्माणपछि सरसफाइ र स्वच्छतासम्बन्धी समुदाय तथा बालबालिकामा परिवर्तन देखापरेको परियोजनाका निर्देशक महेश ढुङ्गानाले बताउनुभयो । स्वच्छ खानेपानी र उचित सरसफाइ व्यक्ति वा वर्गविशेषका लागि मात्र नभई सबैका लागि अपरिहार्य भएको भन्दै निर्देशक ढुङ्गानाले लहान नगरपालिकाको २७ वटा सामुदायिक विद्यालयमा चार वर्षमा नौ हजार आठ सय ९९ विद्यार्थी र दुई सय आठ जना शिक्षक शिक्षिका यस परियोजनाबाट लाभान्वित भएका जानकारी दिनुभयो ।
नगरपालिकासँग समन्वय गरी विभिन्न वडाका दलित बस्ती तथा विद्यालयमा खानेपानी र शौचालय निर्माण गरेर विकन परियोजनाले प्रशंसनीय काम गरेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाका तर्फबाट उक्त आयोजनाको व्यवस्थापनमा ध्यान दिई दिगोपनाका लागि जोड दिने प्रतिबद्धत व्यक्त गर्नुभयो ।


568 पटक हेरिएको 

