सोलार लिफ्टिङ खानेपानी आयोजनाबाट २ सय ६० घर लाभान्वित

  वास खबर सम्वाददाता  950 पटक हेरिएको

सुलीकोट : गोरखामा लिफ्टिङ खानेपानी आयोजनाले २ सय ६० घर लाभान्वित भएका छन् । लामो समयदेखि खानेपानीको चर्को अभाव झेल्दै आएका गोरखाको सहिद लखन गाउँपालिका – ५ काउलेका स्थानीयबासीहरुका लागि सोलार लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो।सहिद लखन गाउँपालिका र रिन्युएवल वर्ल्ड नेपाल नामक संस्थाको साझेदारीमा आयोजना निर्माण सम्पन्न भएको हो ।

आयोजना निर्माण सम्पन्न गर्न कुल ४३ लाख ९४ हजार रुपैयाँ खर्च भएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनु भयो । “आयोजना निर्माण गर्न गाउँपालिकाको तर्फबाट १८ लाख ९४ हजार खर्च भएको छ, उहाँले भन्नुभयो, “त्यस बाहेक साझेदार संस्था रिन्युएवल वर्ल्ड नेपाल नामक संस्थाले पनि रु. २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि खर्च गरेको छ ।”

विद्युतीय प्राबिधिबाट लिफिटङ खानेपानी आयोजना निर्माण गर्दा बिद्युत् आपूर्ति नहुँदा समस्या हुने आर्थिक रूपमा महँगो पर्न जाने भएकाले सोलार प्रविधिमार्फत पानी तान्ने गरी आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष थापा मगरले बताउनुभयो । जसमा सोलार प्रविधि कम खर्चिलो हुने भएकाले उपभोक्ताहरूलाई आर्थिक भार नहोस् भन्ने उद्देश्यले सोलार लिफ्टिङ खानेपनी आयोजना निर्माण गरिएको हो ।

उक्त खानेपानी आयोजनाबाट त्यस क्षेत्रका २ सय ६० घर धुरी घरका स्थानीय उपभोक्ताहरु लाभान्वित भएको वडा नम्बर ५ का वडाध्यक्ष याम बहादुर रानामगरले जानकारी दिनुभयो । आयोजना निर्माण सम्पन्न भएसँगै आफ्नै आँगन स्वच्छ खानेपानीको पाएको भन्दै  स्थानीयबासी खुशी भएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ।

घर आँगनमै स्वच्छ खानेपानीको धारा बनेपछि गाग्री बोकेर धारामा जानुपर्ने बाध्यता हटेको स्थानीय उपभोक्ता शान्ति राना मगरको भनाइ छ । जसले गर्दा गाग्री बाेकेर एक डेढ घण्टा पानी लिन जानु नपर्ने भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार