डोल्पा, जुफाल : डोल्पाको जुफाल स्वास्थ्य चौकीमा कुनै समय सुत्केरी गराउनु भन्दा पनि सुत्केरीको सालनाल व्यवस्थापन गर्न धेरै समस्या थियो। किनकि सुत्केरीको सालनाल व्यवस्थापन गर्न सुत्केरीको आफन्तले खासै चासो दिदैनथ्यो भने कार्यालय सहयोगीले पनि त्यत्ति जाँगर लगाउँदैनथे ।
सुत्केरीको सालनाल खाल्डो खनेर माटोले नै पुर्नु पर्थ्यो। तर गहिरो खाडल खनेर नपुर्दा कुकुर र स्यालले खोतलेर गाउँभरि डुलाउँथ्यो। जुफाल स्वास्थ्य चौकीकी अनमि शान्ति कुमारी बुढा भन्नुहुन्छ ‘कुकुरले तानातान गर्दै बजारभरि डुलाउँथ्यो, एकदम दुर्गन्धित हुन्थ्यो।’
कुकुरले छरपष्ट पारेर यत्तिकै छोड्दा झिँगाहरु भन्किन्थ्यो। कहिलेकाहीं गाउँका मानिसहरु गाली गर्न स्वास्थ्य चौकीमै आईपुग्थे। स्वास्थ्य चौकी परिसरमा खाडल खनेर गाड्दा कुकुरले छरपष्ट पारेको थाहा पाएपछि कतिपय सुत्केरीका आफन्तले घरमै बिसर्जन गर्छौ भन्दै प्लाष्टिकमा पोका पारेर लैजान्थे।
सालनाल कुकुरले घिसारेर हिडेको बेला यसको सही तरिकाले व्यवस्थापन गर्नुपर्ने कुराले प्राथमिकता पाए पनि केही दिन पछि उक्त कुरा सेलाउँथ्यो । एवं रीतले कैयौं बर्षहरु झेलेको जुफाल स्वास्थ्य चौकीमा जब युएसएआईडी/स्वच्छता परियोजनाको प्रवेश भयो, त्यसपछि मात्र व्यवस्थित प्लासेन्टा पिटको निर्माण भयो।
अनि भयो समाधान
स्वास्थ्य चौकी परिसर प्रवेश गर्ने वित्तिकै बायाँतिरको कुनामा देख्न सक्नुहुन्छ ‘प्लासेन्टा पिट’ । प्लासेन्टा पिटमा लेखिएको छ ‘ठूली भेरी नगरपालिका र स्वच्छता परियोजनाको सहकार्यमा निर्मित।’
प्लासेन्टा पिट निर्माण भएपछि बिगतमा जस्तो कुकुरले छरपष्ट पारेर वातावरण प्रदुषित बनाउने समस्या हल भएको छ। अनमि शान्ति कुमारी बुढा भन्नुहुन्छ ‘अहिले पिट भएपछि एकदम सहज भएको छ । सुत्केरी गराउन आउने मानिसका आफन्तले खाडल खन्न जानु पर्दैन । हाम्रै कार्यालय सहयोगीले नै प्लासेन्टामा विसर्जन गर्नुहुन्छ।’
जुफाल स्वास्थ्य चौकीमा स्वच्छता परियोजनाले खानेपानी आपूर्ति, सरसफाइ तथा फोहोर व्यवस्थापन संरचना निर्माण तथा स्तरोन्नति र सौर्य उर्जा प्रणाली समेत जडान गरेको छ।
स्वास्थ्य चौकीको हरेक वार्डमा हातधुने बेसिन निर्माण भएपछि स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको जुफाल स्वास्थ्य चौकीका प्रमुख राजन कुमार डाँगीले बताउनुभयो ।
‘हामीले बिरामीलाई छुनु भन्दा अगाडि र छोएपछि पनि हात धुनुपर्छ, सम्बन्धित वार्डमै हात धुने वेसिन नहुँदा जहाँ धारा छ, त्यहाँ जानुपर्ने हुन्थ्यो’ चौकीका प्रमुख डाँगी भन्नुहुन्छ ‘अहिले हरेक वार्डमा हात धुने वेसिन छ, धारा खोल्न साथ पानी आउने भएको सेवा दिन सहज मात्र होइन, बिरामीबाट सरुवा रोगहरु सर्ने जोखिम पनि कम भएको छ।’
‘डिपो लगाउने क्रममा पनि खुरुररु दौडेर हात धुन जानु पर्थ्यो’ अनमि शान्ति कुमारी बुढाको अनुभव छ ‘अहिले त हात धुनकै लागि धारा धारामा धाई रहनुपर्दैन ।’
स्वच्छता परियोजनाले जुफाल स्वास्थ्य चौकीको खानेपानी आपूर्ति, सरसफाइ तथा फोहोर व्यवस्थापन संरचना निर्माण तथा स्तरोन्नतिका लागि १९ लाख ४१ हजार ४०८ रुपैयाँ र सौर्य उर्जा प्रणाली जडानका लागि ३ लाख ७५ हजार रुपैयाँ लगानी गरेको छ।
यस्तै ठूली भेरी नगरपालिकाको तर्फबाट खानेपानी आपूर्ति र सरसफाइका व्यवस्थापनका लागि ८ लाख ७२ हजार ३७२ रुपैैयाँ र सोलार प्रणाली जडानमा ३ लाख रुपैयाँ गरी ११ लाख ७२ हजार ३७२ रुपैयाँ लगानी गरेको छ। सोलार जडानमा वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको तर्फबाट ३ लाख २ हजार ८२५ रुपैयाँ सहित जुफाल स्वास्थ्य चौकीको खानेपानी आपूर्ति, सरसफाइ तथा फोहोर व्यवस्थापन संरचना निर्माण तथा स्तरोन्नतिका लागि ३७ लाख ९१ हजार ६०५ रुपैयाँ खर्च भएको थियो।
स्वास्थ्य सेवाको गुणस्तर तथा सरसफाइ व्यवहारमा सुधार ल्याउने उद्देश्यले स्वच्छता परियोजनाले डोल्पामा सन् २०१६ देखि २०२१ सम्ममा १० वटा स्वास्थ्य संस्था र सन् २०२१ देखि ०२२ सम्म थप २ वटा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधार निर्माण गरेको थियो। संक्रमण रोकथाम तथा सेवा प्रदायकको व्यवहार परिवर्तन कार्यक्रम भने १६ वटा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको थियो। डोल्पामा २३ वटा स्वास्थ्य संस्था छन्।
सन् २०१६ देखि कर्णाली प्रदेशको डोल्पा, जाजरकोट, सल्यान, रुकुम पश्चिम, दैलेख र सुर्खेत तथा लुम्बिनी प्रदेशको रुकुम पूर्व गरी ७ वटा जिल्लाका २४८ वटा स्वास्थ्य संस्थामा सञ्चालित स्वच्छता परियोजना आगामी अगष्ट महिनादेखि समापन हुँदैछ।