सिमकोट : हुम्लाको सिमकोट गाउँपालिका – १ र २ को ठेहे गाउँ स्थित पञ्चमुखी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाइ गर्ने तरिका सिकाईएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता (सुस्वा) परियोजनाले मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई हात मुख धुने तरिका सिकाईएको हो ।
विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाइको तरिका सिकाउने कार्य भएको विद्यालयका शिक्षक लक्ष्मण बोहराले बताउनुभयो। हात धुने तरिकाबारे सचित्र वर्णन गर्दै हात धुने तरिकाका बारेमा सिकाईएको र यसवाट दुई सय विद्यार्थीहरु लाभान्वित भएको शिक्षक बोहराले जानकारी गराउनुभयो ।
यो कामका लागि सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता (सुस्वा) परियोजनाका कर्मचारीहरु स्थलगत रुपमै खटिएका थिए । परियोजनाले सरसफाई कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । कर्मचारीहरुले विद्यालय हातामा बाल्टी, पानी र सावुन राखेर प्रत्येक विद्यार्थीलाई हात धुनुपर्ने अवस्था र साबुन पानीले हात धुने तरिकाले सिकाएका थिए ।
यो कार्यबाट विद्यार्थीहरुले आफूले हात धुन सिकेर परिवारका अन्य सदस्यहरुलाई पनि हात मुख धुने तरिका सिकाउन सहयोग पुग्ने सुस्वा परियोजनाले विश्वास लिएको छ । कक्षा पाँचसम्म अध्यापन गराईने विद्यालयका सवै विद्यार्थीहरुलाई एक एक वटा हात धुने साबुन समेत वितरण गरिएको छ ।