दैलेख : भैरवी गाँउपालिका–१ रावतकोटका किसानलाई सिँचाइ नहुँदा खेतीपाती गर्न निकै कठिन हुन्थ्यो । पानीको अभाव भएपछि सधैं आकाशेपानीकै भरमा खेती गनुपर्ने बाध्यता थियो। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका रावतका किसानलाई आज भोलि भने सिँचाइ सुविधा पुगे पछि त्यो बाध्यता हटेको छ ।
‘हामी लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थियौँ ,खानेपानीको ट्याङ्कीमा पानी आएपछि सधैँलाई समस्या समाधान भएको छ’ छामघाट रावतकोट लिफ्टिङ खानेपानी आयोजना भैरवी गाँउपालिका–१ का अध्यक्ष खगेन्द्र बहादुर थापाले बताउनुभयो ।
दैनिक एक घण्टा ओरालो झरेर खानेपानी बोक्नुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो । उहाँका अनुसार योे आयोजनाबाट २ सय १८ घरधुरीलाई प्रत्यक्ष रूपमा फाइदा पुगेको छ ।
केही बर्ष पहिला देखि भैरवी गाउँपालिकाको मुख्य बजार डाँडीमा खानेपानी अभाव थियो तर पछिल्लो समयमा लिफ्ट मार्फत खानेपानी आउन थालेपछि स्थानीयवासीमा खुसीयाली छाएको डाँडीमाडी लिफ्टिङ खानेपानी योजना भैरवी गाँउपालिका–५ का सदस्य गीता कुमारी शाही बताउनुभयो।
गाउँमा खानेपानी सुविधा पुगेपछि किसानलाई ठुलो सहयोग भएको उहाँले बताउनुभयो । यस्तै दैलेखको दुल्लु नगरपालिका– १३ बिनायकमा समेत सोलार लिफ्ट मार्फत घरघरमा पानी पुगेपछि किसानलाई सहज भएको प्रेम बहादुर भण्डारीले बताउनुभयो ।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखको आर्थिक सहयोगमा गाउँमा खानेपानी पुगेपछि स्थानीय बासिन्दाले पानीको उपयोग गर्दै तरकारी उत्पादन गर्न थालेका छन् । यसले आय आर्जनमा टेवा पुगेको उनीहरुको भनाइ छ ।