भूकम्पले क्षति भएको शौचालयको पूनःनिर्माण

  वास खबर सम्वाददाता  388 पटक हेरिएको

सल्यान : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले सल्यानको दार्मा गाउँपालिकामा क्षति गरेका शौचालयको पुनर्निर्माण गरिएको छ । भूकम्पले सल्यान दार्मामा व्यक्ति र सार्वजनिक संस्थाका १ हजार ३७ शौचालयमा क्षति भएको थियो ।

एकातिर घर भत्किएको अर्कोतिर शौचालय नहुँदा भूकम्प पीडितलाई शौच गर्न धेरै समस्या थियो । भूकम्प गएको केही समयपछि भूकम्पपीडितलाई अस्थायी शौचालयको व्यवस्था गरिएको थियो । भूकम्पले क्षति गरेका १ हजारभन्दा बढी शौचालयमध्ये अहिलेसम्म ५ सय ८६ वटा निर्माण गरिएको छ ।

दार्मा गाउँपालिका –२ डलसिङ्गका पठेखत्रीले भूकम्पले घरसँगै शौचालयमा क्षति पुगेको र अस्थायी शौचालय प्रयोग गर्दे आएकोमा अहिले पक्की शौचालय निर्माण भएपछि सजिलो भएको बताउनुभयो । उहाँका अनुसार गाउँमा  खानेपानी र सरसफाइका गतिविधि सञ्चालन भएका छन् ।

भूकम्पले दार्मामा ४ हजार  घर, १ हजार ३७ शौचालयमा क्षति पुगेको थियो । क्षति पुगेका  १४ वटा संस्थागत शौचालय निर्माण गरिएको छ । आफ्नो विद्यालयको शौचालयमा क्षति पुग्दा अस्थायी शौचालय प्रयोग गर्नु परेकोमा अहिले विद्यालयमा पक्की शौचालय निर्माण भएपछि छात्रछात्रालाई सजिलो भएको दार्मा गाउँपालिका–१ श्री बाल ज्ञानोदय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेतीराम बुढाथोकीले बताउनुभयो ।

भूकम्पले क्षति गरेको शौचालयमध्ये पहिलो चरणमा व्यक्तिका ५ सय ७२ वटा र १४ वटा संस्थागत शौचालय निर्माण गरिएको छ । ११ वटा शौचालय आइआरटिमार्फत निर्माण गरिएको छ । शौचालय निर्माण गर्न लागि सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजनाले र गाउँपालिकाले साझेदारी गरेका छन् । स्थानीयले पनि श्रमदान गरेका छन् ।

दार्मा गाउँपालिका वास संयोजक  प्रकाश थापाले क्षति भएका बन्न बाँकी शौचालय यसै आर्थिक वर्षमा निर्माण गरिने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “क्षति भएका सबै शौचालय यस वर्ष निर्माण गरिने छ ।”

दार्मा गाउँपालिकाले शौचालय निर्माणका लागि हालसम्म ७५ लाख रुपियाँ खर्च गरेको छ ।  दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले भूकम्पले क्षति गरेका प्रत्येक घरधुरीमा गएर शौचालयको विवरण सङ्कलन गरी निर्माण कार्य अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार आगामी २०८४ सालमा पूर्ण सरसफाइ पालिका घोषणा गर्ने लक्ष्यसहित खानेपानी  र सरसफाइ कार्यक्रम पालिकामा सञ्चालन भइरहेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार