डनटार गाउँमा घर घरै धारा, धमिलो पानीबाट छुटकारा

  वास खबर सम्वाददाता  968 पटक हेरिएको

मकवानपुर : मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको वडा नं. ९ डनटार गाउँका ३४ घरमा स्वच्छ खानेपानी सुविधा पुगेको छ । घरघरै निजी धारा जडान भएपछि धमिलो पानी पिउनु पर्ने बाध्यताबाट छुटकारा पाएका हुन् ।

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (Rural Reconstruction Nepal-RRN), डब्लुएचएच (Welthungerhilfe-WHH), गाउँपालिका र समुदायको लागत साझेदारीमा निर्माण भएको आयोजनाबाट अधिकाँश चेपाङ्ग, तामाङ्ग र अन्य गरी १ सय ५१ जनसंख्या लाभान्वित भएका छन्।

संयुक्त अनुगमनका क्रममा उक्त खानेपानी योजनाको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उदघाटन गर्नुभयो। खानेपानीको मिटर सहितको धारा घर घरमा पुगेपछि खोलाको पानी डोकोमा बोकेर पिउनुपर्ने दिनको अन्त्य भएको छ ।

यस अघि डनटार गाउँका बासिन्दाले धुरुखोलाको पानी बोकेर ल्याउनु पर्ने बाध्यता थियो । बर्षायाममा पानी परेपछि पानी धमिलो हुने र जसो तसो त्यही धमिलो पानीले गुजारा गर्नुपर्ने स्थानीय मनमाया चेपाङ्गले बताउनुभयो। ‘कोही पाहुना आएर पानी माग्दा पनि दिन असजिलो लाग्थ्यो । अरु कुनै उपाय नभए पछि धमिलै पानी खाने पिउने गर्थ्यौं’ मनमायाले बाध्यता सुनाउनुभयो।

‘अहिले त घर आँगनमै पानीको धारा बनेको छ । अब पानीको समस्या सधैंको लागि हटेको छ’ खुसी बाँड्दै मनमायाले भन्नुभयो ‘यसले गर्दा हाम्रा बाल बच्चाहरुलाई सफा राख्न पाएका छौं । चर्पीको नियमित प्रयोग हुना थालेको छ, अहिले सफा पनि छ ।’

महिनावारी भएको बेला खोलाबाट पानी बोक्न गाह्रो भएका दिनहरु सम्झिदै मनमायाले अब ती कष्टकर दिनहरुको अन्त्य भएको बताउनुभयो । ‘खोलामा पानी लिन जाँदा खोलाले बगाउला भन्नु परेन, बाटोमा लड्ने डर पनि भएन । अहिले त घर घरमा खुशियाली छाएको छ।’

उहाँले हरेक घरघरै धारा बनाएर सफा पानी उपलब्ध गराइदिने आरआरएन, डब्लु एच एच र गाउँपालिकालाई धन्यबाद व्यक्त गर्नुभयो ।
सहयोगी संस्थाको १७ लाख ४७ हजार दुई सय ७ रुपैयाँ, स्थानीय तहको ५ लाख र उपभोक्ताको २ लाख ४५ हजार ३ सय १ रुपैयाँ बराबरको श्रमदान गरी कुल २४ लाख ९२ हजार ५ सय ७ रुपैयाँको लागतमा योजना सम्पन्न भएको हो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार