सिमकोट : हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमै खानेपानीको धारा जडान भएपछि स्थानीयबासी खुसी भएका छन् । स्थानीयको माग अनुसार खानेपानी योजना निर्माण भई घर घरमै धारा जडान भएपछि स्थानीयलाई चौबीसै घण्टा खानेपानी उपलब्ध हुन थालेको हो ।
घरमा धारा जडान भएपछि खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको बताउँदै उपभोक्ता जुली लामाले घरमै चौबीसै घण्टा धारामा पानी आउने गरेको बताउनुभयो । यसअघि उहाँको घरमा खोलाको पानी बोकेर ल्याउनु पर्ने बाध्यता थियो। उहाँले सधै बर्खायाममा खोलाको धमिलो पानी उपभोग गर्नुपर्ने बाध्यता हटेको बताउँदै नजिकको सरकार भएको अनुभूति भएको बताउनुभयो ।
छातेसि खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष छिटुप तामाङले उपभोक्ता, गाउँपालिका र सहयोगी निकाय सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को लागत साझेदारीमा निर्माण गरिएको खानेपानी योजनाले याल्वाङवासीको घरघरमा धारा जडान गर्न सफल भएको बताउनुभयो।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले छातेसि खानेपानी योजना समयमै निर्माण भएर सञ्चालनमा आएपछि गाउँपालिका केन्द्रवासी मात्र नभई गाउँपालिका समेत यसबाट लाभान्वित भएको बताउनुभयो। यसअघि खोलाको पानी प्रयोग गर्ने याल्वाङवासीको घरघरमा धारा जडान गरेर चौबीसै घण्टा पानी आउने बनाउन सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।
अध्यक्ष लामाले गाउँपालिकाको लक्ष्य घरघरमा धारा जडान गर्ने रहे अनुसार याल्वाङवासीबाट सुरु भएको बताउनुभयो। ‘यो योजना सवै वडामा पुर्याईनेछ’ उहाँले भन्नुभयो। आयोजनाका गाउँपालिका संयोजक दन्त शाहीले स्थानीयको माग अनुसार खानेपानी योजना निर्माण भई सञ्चालनमा आएको बताउनुभयो।
गाउँपालिका केन्द्र याल्वाङमा उक्त योजनाबाट तीन वटा इन्टेक, आठ वटा रिजर्भ्वायर ट्याङ्की, ८५ वटा धारा निर्माण गरिएको सुस्वा परियोजनाका प्राविधिक सहजकर्ता कार्वु लामाले बताउनुभयो। जसमा दुई हजार लिटर क्षमताको एउटा रिजर्भ्वायर ट्याङ्की निर्माण गरेर गाउँपालिकाको कार्यालय र आसपासका वस्तीमा पानी आपुर्ति भई रहेको छ भने भेराटुल क्षेत्रका लागि आठ र चार घनमिटरको ट्याङ्की निर्माण गरिएको छ ।
त्यसैगरी गुम्वाका लागि ३८ घनमिटरका दुई वटा रिसिङ टोलको लागि छ घनमिटर, खोला टोलका लागि चार घनमिटर विद्यालयका लागि चार घनमिटरको ट्याङ्की निर्माण गरिएको छ । यो योजनाका लागि एक करोड अठार लाख ६७ हजार २२९ रुपैयाँ लगानी भएको सुस्वाले जनाएको छ।
यसमा १९ प्रतिशत जनश्रमदान, दश प्रतिशत गाउँपालिका, एक प्रतिशत उपभोक्ताको नगद लगानी र सत्तरी प्रतिशत फिन्ल्याण्ड सरकारको अनुदान सहयोगबाट खानेपानी योजना सम्पन्न भएको सुस्वाले जनाएको छ ।
स्थानीयले खानेपानी प्रयोग गरेपछिको खानेपानी महसुल समेत वडाले तिर्ने ब्यवस्था गरेको छ । सो परियोजनाबाट याल्वाङका स्थानीय मात्र नभई कार्यालय, गुम्वा, विद्यालय र सुरक्षाकर्मी समेत लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले बताउनुभयो।