मकवानपुर : हेटौंडा उपमहानगरपालिकाले भीडभाड हुने क्षेत्र र आपतकालीन अवस्थालाई लक्षित गरी घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकाले वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस (फरेष्टी क्याम्पस) र पूर्व रानी दरबार अगाडिको खाली ठाउँमा शौचालय सञ्चालनमा ल्याएको हो ।
छतमा पानी ट्याङ्की, महिला/पुरुष दुवैका लागि छुट्टाछुट्टै कम्पार्टमेन्ट रहेको शौचालयको दुवै तिर हात धुने बेसिन राखिएको छ। हात धोएको पानी र दिसापिसाब संकलन हुने ट्याङ्की पनि शौचालयमै जडान गरिएको छ। ट्याङ्की भरिएपछि त्यसलाई ढुवानी गरेर प्रशोधन स्थलसम्म पुर्याईने र त्यसलाई प्रशोधन गरेर मात्र वातावरणमा बिसर्जन गरिने उपमहानगरपालिकाले जनाएको छ ।
हालका लागि फरेष्टी क्याम्पस र पूर्व रानी दरबार अगाडि राखिएको भए पनि आवश्यकताको आधारमा अन्यत्र पनि लैजान सकिने र थप गर्न पनि सकिने उपमहानगरपालिकाले जनाएको छ ।