ओभरहेड ट्याङ्कीहरूको निर्माण कार्य समयमै सम्पन्न गर्न खानेपानीमन्त्री यादवको कडा निर्देशन

  वास खबर सम्बाददाता  164 पटक हेरिएको


विराटनगर : खानेपानीमन्त्री यादवले झापाको मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानीको ओभरहेड ट्याङ्कीहरूको निर्माण कार्य समयमै सम्पन्न गर्न कडा निर्देशन दिनु भएको छ। खानेपानीको ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै मन्त्री यादवले सम्बन्धित उपभोक्ताहरूलाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माण कार्यमा तीव्रता ल्याउन जोड दिनुभयो।

मन्त्री यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको समेत बताउनुभयो। झापा जिल्लाका विभिन्न स्थानहरूमा निर्माणाधीन खानेपानी परियोजनाहरूको स्थलगत अनुगमन गर्दै, निर्माण कार्यको प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो।

यस्तै सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको सनिचरीस्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै मन्त्री यादवले स्थानीय स्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना, र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो।‘सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकार आवश्यक नीति र कार्यक्रम मार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ’ उहाँले भन्नुभयो।

मन्त्री यादव नेतृत्वको अनुगमन टोलीले झापाको मेचीनगरमा चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र काँकरभिट्टास्थित काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको पनि स्थलगत अवलोकन गरे ।

टोलीमा खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना कार्यालय विराटनगरका आयोजना प्रमुख सुरतलाल चौधरी लगायत हुनुहुन्छ । मन्त्री यादवले स्थानीय तहमा भएका सकारात्मक कार्यहरूको प्रशंसा गर्दै खानेपानी आपूर्ति सुधारमा देखिएका चुनौतीहरू समाधान गर्न सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

अनुगमन टोलीले झापामा निर्माण भइरहेको मानव मलमूत्रीय फोहोर व्यवस्थापन आयोजनाको पनि अवलोकन गरे । मेचीनगरमा सञ्चालनमा रहेका मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रले झापा र आसपासका क्षेत्रका नागरिकहरूलाई स्वच्छता र स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँले बताउनुभयो ।

उहाँले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधानका लागि सरकार सक्रिय रहेको र व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकन मार्फत परियोजनाको प्रगतिबारे जानकारी लिन आफू कटिबद्ध रहेको बताउनुभयो। मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज पानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँग सहकार्यलाई सुदृढ गर्ने धारणा राख्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार