जलवायु परिवर्तन र चुरे दोहनको प्रभावबाट मुक्त हुन नसके शुद्ध पानी चुनौतीपूर्ण : खानेपानीमन्त्री यादव

  वास खबर सम्बाददाता  174 पटक हेरिएको

मोरङ : खानेपानी मन्त्री प्रदीप यादवले तराई मधेशमा पानीको भूमिगत स्रोत घट्दै जाँदा ठुलो चुनौती थपिएको बताउनु भएको छ । मोरङको उर्लाबारी वृहत खानेपानी तथा सरसफाइ सहलगानी आयोजनाको उदघाटन गर्दै उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तन र चुरे दोहनको प्रभावबाट मुक्त हुन नसके शुद्ध पानी पनि हाम्रा लागि चुनौती बन्नेछ।’

उपभोक्ताहरूको ३० प्रतिशत संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजनाको ७० प्रतिशत लगानीमा २८ करोड २८ लाख ५० हजार ८३८ रुपियाँमा निर्माण भएको उर्लाबारी खानेपानी तथा सरसफाइ आयोजना २०७९ साल भदौ ३० गते सुरु भएको थियो। दुई वर्षमा पुरा हुने भनिएको आयोजना निर्धारित समयमा नै सम्पन्न भएको संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना कार्यालय विराटनगरका आयोजना प्रमुख सुरतलाल चौधरीले बताउनुभयो।

उर्लाबारी नगरपालिकाका वडा नम्बर ८ र ९ दमक नगरपालिकाको वडा नम्बर १०, रतुवामाई नगरपालिकाको वडा नम्बर १० र पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ५ का उपभोक्ता लाभान्वित हुने यस आयोजनाले चार लाख ५० हजार लिटरको ओभरहेड ट्याङ्कीबाट पानी वितरण गरिरहेको छ। जसका लागि २०१ किलोमिटर पाइप विछ्याइ सकेको छ।

उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ १ का प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बू ,कोशी प्रदेशका सांसद उमाकान्त गौतम, नगर विकास कोष महाशाखाका प्रमुख सुवास पन्त लगायतले धारणा राख्नुभयो।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ , संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना कार्यालय विराटनगरका आयोजना प्रमुख सुरतलाल चौधरी लगायतको उपस्थिति थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार