जाइकाको अनुदानमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना

  वास खबर सम्बाददाता  231 पटक हेरिएको

विराटनगर : जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा वृहत्तर खानेपानी परियोजना सुरु भएको छ। विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाको पहलमा वृहत्तर खानेपानी परियोजना सुरु भएको हो ।

जाइकाको अनुदान सहयोगमा सञ्चालित परियोजना निर्माण कार्य तीव्र रूपमा भइरहेको परियोजनाका इन्जिनियर अरविन्द कर्णले जानकारी दिनुभयो। हाल विराटनगर(८ स्थित हाम्रो चोक पूर्व, रोडरोष चोक र पानीट्याँकी चोकदेखि पाइलाइनको काम भइरहेको छ ।

तीनपैनी, देवकोटा चोक, मुनालपथ र कलरुवा टोलसहित चारवटै स्टेशनमा बोरिङको काम भइरहेको कर्णले बताउनुभयो। ‘चारवटै स्टेशनमा तीन(तीन बोरिङ गर्नुपर्नेमा एउटा(एउटा बोरिङ भइसक्यो । पाइप हाल्न मात्रै बाँकी छ,’ कर्णले भन्नुभयो ‘देवकोटा चोकमा फिल्टर बेसिनको काम जारी छ । तीन पैनीमा फिल्टर बेसिनको लेआउट सम्पन्न भइसकेको छ ।’

कर्णका अनुसार कलरुवा टोलमा ओभरहेड ट्यांकीका लागि जग खन्ने काम भइरहेको छ । कलरुवामा १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ । त्यस्तै सोही स्थानमा साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउण्ड रिजरभाएर ट्यांकी निर्माण हुनेछ । डिपीएस स्कुलदेखि पूर्वतर्फ पाइप क्रसिङका लागि ब्रिजको काम भइरहेको छ ।

कर्णका अनुसार तीनपैनी, देवकोटा चोक र मुनालपथमा १२(१२ लाख लिटर क्षमताको पानी स्टोर गर्ने ट्यांकी निर्माण गरिनेछ । तीनपैनीमा हाल ४ लाख ५० लाख लिटर ओभरहेड ट्यांकी छ । परियोजनाबाट विराटनगर वडा नम्बर १ देखि १४ का बासिन्दा लाभान्वित हुनेछन् । ६४ किलोमिटर पाइप बिछ्याइने कर्णको भनाइ छ ।

तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको उहाँले सुनाउनुभयो। हाल विभिन्न तीन ठाउँबाट पाइपलाइन विस्तारको काम भइरहेकोमा केही दिनभित्रै पाँच ठाउँबाट पाइपलाइन विस्तार हुने कर्णको भनाइ छ । आवतजावत र बजारको व्यापार व्यवसायमा कुनै असर नपर्ने गरी पाइपलाइन विस्तारको काम भइरहेको खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले बताउनुभयो।

उहाँका अनुसार सो परियोजना करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण हुँदैछ । परियोजनाको औपचारिक काम सुरु हुनुभन्दा अगाडि विभिन्न वडामा परीक्षणका रुपमा पाइपलाइन बिछ्याइएको थियो । परीक्षण पूरा भएपछि औपचारिक रुपमा पाइप बिछ्याउन सुरु गरिएको हो । हालसम्म १७ सय मिटर पाइप विस्तार गरिसकिएको छ ।

विराटनगर महानगरका मेयर नागेश कोइरालाले विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता आफ्नै कार्यकालमा पूरा गर्ने बताउनुभयो। आफूले चुनावी घोषणापत्रमा विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गर्दै मेयर कोइरालाले तोकिएको समयभित्रै काम सम्पन्न गराउन महानगरका तर्फबाट निर्माण पक्षलाई सहयोग गरिरहेको बताउनुभयो।

समस्या देखिएका स्थानमा महानगरले नै समन्वय गरेर समाधान गरिरहेको मेयर कोइरालाको भनाइ थियो । ‘दुई वर्षभित्र सबै काम सम्पन्न गरी महानगरवासीको घरको धारामा पानी झार्नुपर्छ,’ उहाँले भन्नुभयो ‘त्यसका लागि महानगरले कहाँ के कस्तो भूमिका निर्वाह गर्नुपर्छ महानगर तयार छ ।’ खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार