खानेपानी समस्या समाधानका लागि बोरहोल गरिँदै, १ हजार ४१ घरधुरी लाभान्वित हुने

  वास खबर सम्बाददाता  212 पटक हेरिएको

सिरहा : लहान नगरपालिका–१६ स्थित तरेगणा गोविन्दपुरमा वर्षैंदेखि अलपत्र रहेको खानेपानी आयोजनाको काम पुनः सञ्चालन भएको छ। अधुरो खानेपानी योजनाको काम सम्पन्न गर्न लहान नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थान अन्तर्गत शाखा कार्यालय लहान र दलित जनकल्याण युवा क्लबको सहयोग तथा समन्वयमा सञ्चालित ‘द विकन परियोजना’बाट ६० लाख रुपैयाँ लागतमा डिप बोरिङ गर्न सुरु गरिएको नगरप्रमुख महेश चौधरीले जानकारी दिनुभयो। खानेपानीको अधुरो काम सञ्चालन भएसँगै अब यस भेगका नागरिक खानेपानीको अभावबाट चाँडै मुक्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।

“वर्षौदेखि अलपत्र खानेपानीका लागि लहान नगरपालिका–१६ र १७ का स्थानीयवासी सङ्घर्षरत थिए”, नगरप्रमुख चौधरीले भन्नुभयो “खानेपानीको समस्या समाधान हुने तर्फ काम अगाडि बढेको छ । अब चाँडै यस भेगका नागरिकलाई खानेपानीको अभावबाट मुक्ति मिल्नेछ ।”

परियोजनाले गरेको सर्भे अनुसार १ हजार ४१ घरधुरीमा खानेपानी धारा जडान हुनेछ भने आठ हजार तीन सय ९४ स्थानीय लाभान्वित हुने खानेपानी संस्थान लहान शाखाका वितरण महाशाखा प्रमुख लट्टप्रसाद यादवले जानकारी दिनुभयो। उहाँका अनुसार दुई लाख २५ लिटर क्षमताको पानी भण्डारण गर्न ओभरहेड ट्याङ्क बनिसकेको छ ।

यसअघि दुई वटा बोरिङ जडानका लागि ‘बोरहोल’ गरिएको थियो । नजिकै पोखरी हुँदा सुरुमा पानी देखिए पनि पछि पोखरी सुकेपछि बोरहोल असफल भई आयोजना अलपत्र परेको दलित जनकल्याण युवा क्लबका सामाजिक परिचालक एलिना हिङ्माङले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले पहिलेको भन्दा एक किलोमिटर बढी ठाउँ सारेर बोरहोलको काम भइरहेको छ ।

लहान–१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले स्थानीयको समस्या बुझेर नगरप्रमुख चौधरीले खानेपानीको काम अगाडि बढाएको भन्दै आगामी दिनमा समस्या समाधान हुनेमा विश्वस्त रहेको बताउनुभयो। नगरको काममा वडाको सदैव समर्थन र सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार