खानेपानी र सरसफाइमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण निर्देशिका अन्तिम चरणमा

  वास खबर सम्बाददाता  593 पटक हेरिएको


काठमाडौ : खानेपानी मन्त्रालयले ‘खानेपानी र सरसफाइमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण निर्देशिकाको मस्यौदा’ तयारीको काम अन्तिम चरणमा पुर्‍याएको छ ।

खानेपानी र सरसफाइको योजना तर्जुमा देखि डिजाइन, संरचना निर्माण तथा सञ्चालन र व्यवस्थापनमा समेत महिला, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक रुपमा पिछाडिएको वर्गको सहभागिता सुनिश्चितताका लागि खानेपानी मन्त्रालयले लैङ्गिक समानता र सामाजिक समावेशीकरण निर्देशिकाको मस्यौदा निर्माण गरेको हो ।

खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले निर्देशिकाको मस्यौदा तयारीको काम अन्तिम चरणमा पुगेको र त्यसपछि सरोकारवाला निकायसँग परामर्श गोष्ठीहरु आयोजना गरी अन्तिम रुप दिईने बताउनुभयो । वुमन इन वास डाटा (Women in WASH Data) बिषयक अन्तरक्रिया कार्यक्रममा सहसचिव श्रेष्ठले सरोकारवाला निकायसँग सहकार्य र परामर्श गरेर बनाएको खण्डमा मात्र त्यसको प्रभावकारिता बढ्ने र कार्यान्वयनमा पनि सहज हुने बताउनुभयो ।

उहाँले खानेपानीको योजना तर्जुमा, डिजाइन, कार्यान्वयन र निर्णायक तहमा पनि लैङ्गिक समानता र सामाजिक समावेशीकरण अनिवार्य हुनुपर्ने बताउनुभयो ।

Integrating GESI WASH Data Systems बिषयक प्यानल छलफलको अध्यक्षता गर्नु भएका सहसचिव श्रेष्ठले विभिन्न कुटनीतिक नियोगका कार्यालयहरुमा निर्माण भएका खानेपानी र सरसफाइका संरचनाहरु जेसीमैत्री भए पनि नेपाल सरकारको भवनहरुमा त्यस्तो सुविधा नरहेको बताउनुभयो ।

त्यसैका लागि लैङ्गिक समानता र सामाजिक समावेशीकरण निर्देशिका (GESI Guideline) तयार पार्नु परेको र यसलाई प्रमाणीकरण तहसम्म पुर्‍याउन सबैको साथ सहयोगको अपेक्षा रहेको उहाँको भनाइ थियो।


प्यानल छलफलमा बेलायती दुतावासका सोसल सेक्टर एडभाइजर कमला के.सी., महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख ममता विष्ट, त्रिभुवन युनिभर्सिटीका प्राध्यापक एवं नाष्टका प्राज्ञ डा.साधना प्रधानाङ्ग र गोदावरी नगरपालिकाका वातावरण इन्जिनियर अनिता बोहोराले लैङ्गिक समानता र सामाजिक समावेशीकरणको अवस्था र खानेपानी तथा सरसफाइ योजनाको हरेक चरणमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण बढाउन अपनाउनुपर्ने नीतिगत तथा व्यवहारिक पक्षहरुका बिषयमा जोड दिनु भएको थियो।

त्यस अघि खानेपानी तथा ढल व्यवस्थापन विभागको राष्ट्रिय सूचना व्यवस्थापन आयोजनाका प्रमुख, सिनियर डिभिज्नल इन्जिनियर डा. रजित ओझाले NWASH MIS System मा अद्यावधिक तथ्याङ्कको आधारमा विभिन्न संस्थागत संरचनामा महिला सहभागिताको स्थिति सम्बन्धी तथ्याङ्क प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रम वाटर एडको सहयोग र Intellectuals Center को प्राविधिक साझेदारीमा सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) ले आयोजना गरेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार