खानेपानी विभागमा अब ३ जना उपमहानिर्देशक रहने, देशैभरि १५ वटा स्थायी कार्यालय

  वास खबर सम्बाददाता  1987 पटक हेरिएको


काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागमा अब ३ जना उपमहानिर्देशक रहने भएको छ । खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत भए सँगै विभागको सांगठनिक संरचनामा ठूलो फेरबदल गरेको हो ।

नेपाल सरकार मन्त्रीपरिषद बैठकले यही चैत्र ११ गते खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको थियो ।

नयाँ संरचना अनुसार खानेपानी विभागमा अब खानेपानी महाशाखा, ढल तथा सरसफाइ व्यवस्थापन महाशाखा र सेवा नियमन तथा समन्वय महाशाखा गरी ३ वटा महाशाखा हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा नियमन तथा समन्वय महाशाखा नयाँ महाशाखाको रुपमा विभागमा स्थापना हुनेछ । यस अन्तर्गत अब विभाग देखि तल्लो तहसम्म पनि सेवा नियमन तथा समन्वय शाखा हुनेछ ।

देशभरिमा १५ वटा मात्र संघीय कार्यालय

नयाँ संरचना अनुसार अब देशभरि १५ वटा स्थायी कार्यालयहरु रहनेछन् । हाल मौजुदा रहेको २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरुलाई १५ वटा स्थायी कार्यालयमा सीमित गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयको नाम समेत परिवर्तन गरी खानेपानी तथा ढल व्यवस्थापन कार्यालय मात्र राखिएको छ ।

कहाँ – कहाँ हुनेछन् खानेपानी तथा ढल व्यवस्थापन कार्यालयहरु ?

महानिर्देशक श्रेष्ठका अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत अब १५ वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयहरु हुनेछन् । जुन निम्न स्थानहरुमा रहनेछन् ।

१. विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, नेपालगन्ज : यी पाँच वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा सहसचिव दरबन्दी हुनेछ ।

२.धनकुटा, खोटाङ, वीरगन्ज, रामेछाप, चितवन, लम्जुङ, बुटवल, सुर्खेत, डडेलधुरा, कन्चनपुर यी कार्यालयहरुमा सिनियर डिभिज्नल इन्जिनियर (उपसचिव) को दरबन्दी हुनेछ ।

हाल विराटनगर, इलाम, खोटाङ, धनकुटा, जनकपुर, वीरगन्ज, हेटौंडा, भक्तपुर, चितवन, रामेछाप, पोखरा, लम्जुङ, म्याग्दी, वुटवल, अर्घाखाँची, नेपालगन्ज, सुर्खेत, जुम्ला, धनगढी र कन्चनपुरमा गरी २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरुले संघीय खानेपानी आयोजनाहरु कार्यान्वयन गरिरहेको छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार