काठमाडौ : खानेपानीको थोक वितरण प्रणाली तथा संघीय स्तरका ठूला एवं वृहत खानेपानी आयोजनाहरुका लागि आवश्यक पानी उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत निर्मित सिंचाई आयोजनाहरुबाट उपलब्ध गराउन खानेपानी मन्त्रालय र उर्जा मन्त्रालय बीच सम्झौता भएको छ ।
हालका लागि सुनकोशी थोक खानेपानी वितरण प्रणाली र बबई(कोहलपुर थोक खानेपानी वितरण प्रणाली लगायत खानेपानी आयोजनाहरुका लागि पानी उपलब्ध गराउने भए पनि भविश्यमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको कार्यक्षेत्र तथा संस्थागत उद्देश्य प्राप्तिमा कुनै असर नपर्ने गरी खानेपानी मन्त्रालयको अनुरोधमा जुनसुकै सिँचाई आयोजनाबाट आवश्यक परिमाणमा पानी उपलब्ध गराउन सम्बन्धित मन्त्रालयहरु बीच सम्झौता भएको हो ।
खानेपानी मन्त्री प्रदीप यादव तथा ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काको समुपस्थितिमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र उर्जा सचिव सरिता दवाडीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा खानेपानी मन्त्रालयको तर्फबाट खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठ साक्षी हुनुहुन्छ भने उर्जा मन्त्रालयको तर्फबाट जलस्रोत तथा सिँचाई विभागमा महानिर्देशक संजीव बरालले साक्षीका रुपमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताको अवधि दस वर्षको लागि हुनेछ । दुवै पक्षको सहमतिमा अवधि थप गर्न सकिने प्रावधान समेत राखिएको छ ।
खानेपानी मन्त्रालयको भूमिका
सम्झौतामा उल्लेख गरिए अनुसार खानेपानी मन्त्रालयको भूमिका :
खानोपनी मन्त्रालयले भविष्यमा कार्यान्वयन गर्न लागेका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरू मध्ये जलश्रोतको बहुउपयोगको साझेदारी गर्नु पर्ने देखिएका आयोजनाहरु यकिन गरी त्यस्ता योजनाका लागि आवश्यक पर्ने खानेपानीको स्रोत, जल स्थानान्तरण स्थान, जलश्रोतको परिमाणको जानकारी उर्जा मन्त्रालाई गराउनेछ ।
यस सम्बन्धी समन्वय तथा छलफल गर्न खानेपानी मन्त्रालयले सम्पर्क व्यक्ति तोक्नेछ ।
खानेपानी मन्त्रालयले पानीको अभावले सञ्चालनमा नआएका प्रणालीहरू र आवश्यक पानीको परिमाणको भू(सूचना प्रणाली सहितको तथ्याङ्क संकलन गरी उर्जा मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।
उर्जा मन्त्रालयको भूमिका
√ उर्जा मन्त्रालयबाट भविष्यमा निर्माण गरिने, निर्माणाधिन तथा सञ्चालनमा रहेका सिंचाई आयोजनाहरूबाट खानेपानी मन्त्रालयले कार्यान्वयन गर्ने सुनकोशी थोक खानेपानी वितरण प्रणाली, बबई-कोहलपुर थोक खानेपानी वितरण प्रणाली लगायतका अन्य खानेपानी आयोजनाहरुका लागि उर्जा तथा सिँचाई मन्त्रालयाको कार्यक्षेत्र तथा संस्थागत उदेश्य प्राप्तिमा कुनै असर नपर्ने गरी खानेपानी मन्त्रालयको अनुरोध अनुसार आवश्यक परिमाणमा पानी उपलब्ध गराउनुपर्नेछ ।
√ उर्जा तथा सिँचाई मन्त्रालयले पनि यस विषयमा समन्वय तथा छलफल गर्न सम्पर्क व्यक्ति तोक्नेछ ।
√ निर्माणाधिन तथा सञ्चालनमा रहेका सिंचाई तथा बहुउदेश्यीय आयोजना सम्बद्ध खानेपानी मन्त्रालयबाट माग भएका पानीको तथ्यांक, उपलब्धता र आवश्यक्ता अनुसार भू-सूचना प्रणाली सहितको खानेपानी मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।
खानेपानी, सरसफाइ तथा स्वच्छताको लागि सबैलाई सर्वसुलभ रूपमा पर्याप्त, सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सेवामा समन्यायिक पहुँचको विकास, अध्ययन, अनुसन्धान र प्रविधि विकास सम्बन्धी कार्य खानेपानी मन्त्रालयको कार्यक्षेत्र हो भने जलस्रोतको दिर्घकालिन योजना, दिगो विकास, संरक्षण, उपयोग, नियमन र पानीको बाँडफाँड तथा जलस्रोतसम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधि विकास उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दछ ।
यस अघि ५ फेब्रुअरी २०२३ मा उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, शहरी विकास मन्त्रालय तथा खानेपानी मन्त्रालय बीच बागमती नदीमा बाँध बनाइ संचय गरिने पानीको बाँडफाँड तथा उपयोग सम्बन्धी समझदारी भएको थियो ।