काठमाडौ : खानेपानी मन्त्रालय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच खानेपानी र सरसफाइको क्षेत्रमा सहकार्य गर्न सम्झौता भएको छ । नेपालको पहाडी र तल्लो तटीय क्षेत्रका समुदायलाई दिगो र सुरक्षित पानी र सरसफाइ सेवा प्रदान गर्न आवश्यक अनुसन्धान, प्रविधि हस्तान्तरण र जलाधार तथा मूलाधार संरक्षणका लागि सहकार्य गर्ने समझदारी भएको हो ।
खानेपानी मन्त्रालयमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री प्रदीप यादवले हिमाल र पहाडमा पानीका मुहानहरु सुक्दै जानु र तराई मधेसमा भूमिगत पानीको सतह घट्दै जानु खानेपानी र सरसफाइ क्षेत्रका लागि चुनौतीपूर्ण भएको बताउनुभयो । उहाँले इसिमोडको प्रविधि र विज्ञताबाट यसको समाधान हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
‘यो सहकार्यको माध्यमबाट अनुसन्धान, प्रविधि हस्तान्तरण, क्षमता विकास र सूचनाको आदानप्रदान हुनेमा म विश्वस्त छु’ उहाँले भन्नुभयो ‘ईसिमोडको विज्ञताको प्रयोगले नेपालको खानेपानी, सरसफाई र स्वच्छता क्षेत्रमा दीगो र प्रभावकारी विकास सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।’
यस अघि गत कार्तिकमा मुहान संरक्षण बारे खानेपानी मन्त्रालय र इसिमोड बीच छलफल भएको थियो। छलफलमा इसिमोडका जलाधार तथा मूलाधार विशेषज्ञ माधवप्रसाद ढकालले मूल संरक्षणका क्षेत्रमा तयार गरिएको अध्ययन सामग्री प्रस्तुत गर्दै नेपालमा छ लाख पानीका मूल रहेकोमा करिब ३० प्रतिशत मूल सुकेका तथा त्यसमा पानीको गुणस्तर पनि घटेकाले यो निकै चिन्ताको विषय भएको बताउनु भएको थियो । जलाधार विज्ञ ढकालले ती स्रोतमा कम्तीमा एक करोड मानिस आश्रित रहेको र यसको संरक्षण जरुरी रहेको बताउनु भएको थियो।
International Centre for Integrated Mountain Development (ICIMOD) क्षेत्रीय अन्तरसरकारी संस्था हो । जुन हिमालयन क्षेत्रका आठ देशहरू अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल, र पाकिस्तानमा कार्यरत छ।
ईसिमोडले हिमालयन क्षेत्रको दिगो विकास, दुर्गम पर्वतीय क्षेत्रका जनताको जीवनस्तर सुधार, वातावरणीय संरक्षण, जलवायु परिवर्तनका असरहरूको अनुसन्धान र समाधानको उपायहरुको खोजी गर्ने उद्देश्यले जलवायु परिवर्तन र वातावरण, पानीको स्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण, प्रविधि र ज्ञान व्यवस्थापन तथा समुदाय र जीविकोपार्जन सुधारको क्षेत्रमा कार्य गर्दै आएको छ ।