श्रीअन्तु समालबुङ खानेपानी आयोजना उदघाटन, पूर्वी पहाडमा सुरक्षित पानी पहुँच

  वास खबर सम्बाददाता  600 पटक हेरिएको

इलाम : श्रीअन्तुमा बढ्दो पर्यटकीय गतिविधि र बसोबासको विस्तारले सिर्जना गरेको खानेपानी अभावलाई सम्बोधन गर्न ‘श्रीअन्तु समालबुङ खानेपानी आयोजना’ को थालनी गरिएको छ। जसको उदघाटन खानेपानी मन्त्री प्रदीप यादवले गर्नुभयो । सिद्धिखोला र अन्तुखोलाको पानीलाई तीन चरणमा लिफ्टिङ गरी श्रीअन्तुमा खानेपानी पुर्‍याईएको हो ।

यस आयोजनाबाट जनस्वास्थ्यमा सुधार आउने, बालबालिकाको विद्यालय जान सक्ने समय बढ्ने, महिलाको श्रम भार घट्ने खानेपानीमन्त्री यादवले बताउनुभयो । खानेपानी आयोजना सम्प्न्न भएपछि पर्यटन व्यवसायमा थप उत्साह आउनेछ उहाँले भन्नुभयो । वातावरणमैत्री योजना निर्माण र दिगो स्रोत व्यवस्थापनको दृष्टिले यो आयोजना अनुकरणीय योजना रहेको उहाँको भनाइ थियो।

स्थानीय आवाज

श्रीअन्तु, इलामको सूर्योदय नगरपालिकामा अवस्थित एक रमणीय पर्यटकीय गन्तव्य हो । जहाँबाट देखिने ‘अन्तुडाँडाको झुल्के घाम’ स्वदेशी र विदेशी पर्यटकलाई समानरूपमा आकर्षित गर्छ। यहाँका नागरिकको जीवनशैली, पर्यटनमा आधारित आयस्रोत, र दैनिक उपभोग्य सेवाको माग निरन्तर बढिरहेको छ।

तर, पानीको स्रोत भने उच्च भूभागमा नभई तल रहेको हुँदा स्वाभाविक गुरुत्वबलको भरमा वितरण गर्न सम्भव थिएन। यसैले पम्पिङ प्रणाली मार्फत पानी उठाएर उच्च भूभागमा भण्डारण गरी वितरण गर्ने योजना ल्याइएको हो। खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलाम मार्फत सञ्चालनमा ल्याईएको हो ।

प्रमुख संरचनाहरू

२ वटा मुहान सिद्धिखोला र अन्तुखोला (महेन्द्रबेंसी)
३ चरणको पम्पिङ प्रणाली, महेन्द्रबेंसीबाट अन्तुडाँडासम्म
८ वटा पानी ट्याङ्की १ प्रशोधन केन्द्र, क्लोरिन डोजिङ युनिट
१५८ वटा भल्भ च्याम्बर, ४ वटा सार्वजनिक शौचालय, ४ वटा पम्प र गार्ड हाउस
११३.५५ किलोमिटर लामो पाइपलाइन (प्रसारण र वितरण गरी)

पानी प्रशोधन, सेडिमेन्टेसन, क्लोरिनेसन आदि उपाय समावेश गरिएकाले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुरुप सुरक्षित सेवा प्रवाह सुनिश्चित गरिएको जनाएको छ । ।

लाभान्वित समुदाय र पहुँच

लक्षित घरधुरी १,९१९
हालसम्म जडान ४०६ घरधुरी
लाभान्वित जनसंख्या ११,७६७

ठेक्का विवरण

निर्माण व्यवसायी श्री स्वामीनारायण निर्माण सेवा प्रा.लि., धरान
सम्झौता मिति २०७९ असार २४
कार्य सम्पन्न म्याद २०८१ चैत्र २४
सम्झौता रकम रु २६,९५,८९,६६१

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार