रौतहटः दुर्गा भगवती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका लागि १ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको छ।
गाउँपालिकामा आयोजित खानेपानी, सरसफाइ तथा स्वच्छता योजना पुनरावलोकन एवं वित्तिय रणनीति तर्जुमा कार्यशालामा गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंह, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको संयुक्त पहलमा वास योजना अनुरूप प्राथमिकतामा परेका कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।
नेपाल सरकारको नीतिगत, कानूनी तथा संस्थागत संरचनालाई आत्मसात गर्दै, राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली (NWASH MIS) मा आधारित योजना अनुसार बजेट विनियोजन गर्न प्रतिबद्धता जनाईएको युनिसेफ नेपालका वास अफिसर अन्नपूर्णा मिश्रले जानकारी दिनुभयो।
प्रस्तावित बजेट तथा कार्यक्रमहरू :
- १. युनिसेफ लगायतका साझेदार संस्थासँग सह-लगानीमा कार्यक्रम सञ्चालन – रु. २०,००,०००
- २. पालिका स्तरीय वास युनिट र पानी जाँच ल्याब स्थापना तथा कर्मचारी व्यवस्थापन – रु. ७,००,०००
- ३. विद्यालयहरूमा पहुँचयुक्त खानेपानी, शौचालय र तीन तारे पद्दति अनुसार संरचना निर्माण – रु. ३५,००,०००
- ४. स्वास्थ्य संस्थाहरूमा सुधारिएको वास सुविधा निर्माण – रु. १०,००,०००
- ५.वडागत सरसफाइ तथा स्वच्छता प्रवर्द्धन अभियान – रु. ५,००,०००
- ६. वास योजना अपडेट र सूचना व्यवस्थापन प्रणाली सुदृढीकरण – रु. ४,००,०००
- ७.ह्यान्ड पाइप, फिल्टर, टंकी जस्ता खानेपानी पूर्वाधार निर्माण – रु. २५,००,०००
- ८.विपद् व्यवस्थापन अन्तर्गत वास सेवा प्रवर्द्धन – रु. ५,००,०००
- ९. सार्वजनिक शौचालय तथा फोहोर व्यवस्थापन – रु. २०,००,०००
- १०.सुरक्षित खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम – रु. ५,००,०००
गाउँपालिकाले संघीय, प्रदेश तथा अन्य विकास साझेदारहरूसँग समन्वय र सहकार्य गर्दै वास क्षेत्रमा दिगो विकास सुनिश्चित गर्न कार्यान्वयन अघि बढाउने बताएको छ।