
ललितपुर : धेरै पहाडी गाउँहरू अझैसम्म पनि स्वच्छ र सुरक्षित खानेपानी केवल सपना बनेर बाँचेको छ। तर आज ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेले गाउँले त्यो सपना पुरा गरेको छ ।
पानी त लेलेमा पहिले पनि थियो, तर त्यो पानी केवल प्यास मेटाउने माध्यम थियो, स्वच्छताको प्रत्याभूति होइन। धमिलो, कहिले फोहोर, कहिले लेउ मिसिएको र कहिले त जुका समेत बहन्थ्यो । हरेक गिलास पानीमा स्वास्थ्यको जोखिम थियो । तर आज, लेलेले इतिहासको पाना पल्टाएको छ । पहिलो पटक शुद्ध, र सुरक्षित खानेपानीको स्वाद चाख्न पाएका छन्।

आज स्थानीय समुदायका अनुहारमा हर्ष मिश्रित उत्साह थियो। गाउँको मुहानसम्म पुगेका थिए अतिथिहरू, युरोपियन युनियनका नेपालस्थित कार्यालयका कोअपरेसन हेड जोसे लुईस भेन्युसा सन्तामारिया, वाटर एड यूकेका रोब फुल्लर, स्वीडेनस्थित भ्याकिनका सीईओ रोबर्ट हन्सन, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, वडा अध्यक्षहरू, वाटर एड नेपालका एक्टिङ कन्ट्री डाईरेक्टर सत्यजीत प्रधान तथा अन्य विदेशी अतिथिहरु र उपभोक्ता समितिका सदस्यहरू।
पानीको मुहानमै पुगेर खानेपानी आयोजना उद्घाटन गर्दा जसरी पानी बग्यो, त्यसरी नै स्थानीयको आशा पनि बगिरहेको थियो, जीवनमा, घर घरमा, र भविष्यतर्फ।
पहिलो चरण पूर्वाधारको जग निर्माण
आर्थिक वर्ष २०७९/८० मा सुरु गरिएको पहिलो चरणमा २०० क्युबिक मिटर क्षमताको रिजर्भ्वायर ट्यांकी (RVT) निर्माण, पानी स्रोतको संरक्षण, घेराबार, र नाली निर्माण सम्पन्न गरिएको थियो ।
यस चरणमा रु १ करोड बजेट विनियोजन गरिएको भए पनि ७३ लाख १७ हजार ४०७ रुपैयाँको ठेक्कामा काम सम्पन्न हुँदा ६३ लाख ९५ हजार ५७१ रुपैयाँ भुक्तानी दिईएको थियो।
त्यस्तै, ५१० थान पानी मिटर खरिद गरी रु १० लाख लगानीमा मिटर प्रणाली मार्फत उपभोक्ताको घरसम्म सेवा विस्तारको गरिएको थियो ।

दोस्रो चरण : सेवा विस्तार र प्रविधिमा आधारित सुधार
आयोजनाको दोस्रो चरणमा र्यपिड स्याण्ड फिल्टर (RSF) को निर्माण, मजुवा क्षेत्रमा खानेपानी वितरणको लागि ५० घन मिटर क्षमताको आरभीटी (RVT) निर्माण पम्पिङ प्रणाली जडान, DMA 1, 3, 4 मा पाइप विस्तार तथा गार्ड हाउस निर्माण जस्ता संरचनात्मक विकास गरिएको छ ।
दोस्रो चरणको लागि ५ करोड ६,३ लाख ९७ हजार ७३७ बजेट विनियोजन गरिएको छ। निर्माण कार्य अम्बर शान्ति/गौतम शक्ति जेभी मार्फत रु. ५ करोड १७ लाख २७ हजार २२८ मा भएको हो ।

सहकार्यको शक्ति, दीर्घकालीन दृष्टिकोण
यस आयोजनाले VAKIN, WaterAid, UN-Habitat (GWOPA), गोदावरी नगरपालिका, र युरोपियन युनियन बीचको साझेदारीको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
स्थानीय तहको अग्रसरता, अन्तर्राष्ट्रिय साझेदारहरूको प्राविधिक तथा आर्थिक सहयोग, र समुदायको सहभागिताले गर्दा लेले खानेपानी आयोजना नेपालको ग्रामीण खानेपानी प्रणाली सुधारको एउटा प्रेरणादायी नमूना बन्न पुगेको छ।

उद्घाटन कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय प्रतिनिधिहरू, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू सबैले अब हाम्रो जीवनशैलीमा परिवर्तन आउँदैछ भन्ने एउटै भावना व्यक्त गरेका थिए ।
आजै नगरपालिकामा स्थापना गरिएको मिनील्याबको पनि उदघाटन गरिएको छ ।

नगरपालिकाको वडा नं. ५ को प्राङगणमा आयोजना गरिएको कार्यक्रममा गोदावरी नगरपालिकामा मेयर गजेन्द्र महर्जनले लेले एकीकृत खानेपानी तथा सरसफाइ आयोजना नगरपालिकाभित्रको सबैभन्दा ठूलो र उत्कृष्ट आयोजना भएको बताउनुभयो ।
यस्तै युरोपियन युनियनका नेपालस्थित कार्यालयका कोअपरेसन हेड जोसे लुईस भेन्युसा सन्तामारियाले नेपाल युरोपियन युनियनको एक उत्कृष्ट साझेदार राष्ट्र भएको चर्चा गर्दै भविश्यमा पनि नेपालको विकास निर्माण सँग नजिक रहेर सहकार्य गर्ने बताउनुभयो।

स्वीडेन स्थित भ्याकिनका सिईओ रोबर्ट हन्सनले लेले एकीकृत खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र स्थानीयको लगावका कारण गत असोजमा आएको ठूलो बाढीको बाबजुद पनि काम समयमै सम्पन्न गर्न सफल भएको बधाई ज्ञापन गर्नुभयो । उहाँले लेले एकीकृत खानेपानी आयोजनामा भ्याकिनले प्राविधिक सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले उपभोक्ता समितिका लागि एप्रोन, पञ्जा, चश्मा लगायत सामग्री हस्तान्तरण गरिनुका साथै प्रसंशा पत्रले सम्मान गर्नुभयो ।

कार्यक्रममा लेले एकीकृत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले अझै बाँकी घरहरुमा खानेपानी आपूर्ति गर्न बजेट विनियोजन गर्न माग गर्नुभयो ।












790 पटक हेरिएको 

