
मधेस प्रदेश : मधेस प्रदेशका छ वटा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन प्रणालीमा उल्लेखनीय सुधार भएको छ। छायाँ नेपालले सञ्चालन गरेको ‘सुरक्षित रूपमा व्यवस्थित र जलवायु उत्थानशील खानेपानी, सरसफाइ र स्वच्छता सेवा सुविधाहरूका लागि प्राविधिक सहयोग कार्यक्रम’ बाट प्रति वर्ष झण्डै २ हजार ५ सय जना बिरामी र स्वास्थ्यकर्मी प्रत्यक्ष रूपमा लाभान्वित भएको छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापाले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य संस्थामा सेवाग्राही र स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखी पूर्वाधार सुधार गरिएको हो। स्वास्थ्य संस्थाहरुमा हातधुने संरचना, महिला,पुरुष, अपाङ्गमैत्री शौचालय निर्माण, सुरक्षित पानीको पहुँच, तथा संक्रमणजन्य फोहोर व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार, वास फिट टुलको प्रयोग गरी स्वास्थ्य संस्थाको प्रारम्भिक अवस्था मूल्याङ्कन गरिएपछि आवश्यक पूर्वाधार सुधार कार्यहरू चरणबद्ध रूपमा अघि बढाइएको हो। “जस्तो प्लासेन्टा पिटको व्यवस्था, प्रयोग गरिएका सुईहरूको सुरक्षित व्यवस्थापन र अन्य मेडिकल फोहोरहरू व्यवस्थापन गर्ने विभिन्न संरचना निर्माण लगायतका कार्य सम्पन्न गरिएको छ” उहाँले बताउनुभयो।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
स्वास्थ्यकर्मीको अनुभव
“जोखिमपूर्ण फोहोर, फोहोरको वर्गीकरण त्ययसमा चाहिं हाम्रो अवस्था अलि कमजोर थियो। जसमा अब हामीले फोहोरको वर्गीकरण गर्न सकिरहेका थिएनौं । कसरी राख्ने त्यो कुराहरु थाहा थिएन । फोहोरहरु जथाभावी छरेर राख्ने गरेका थियौं । ढलहरुको व्यवस्था पनि फुटे फाटेको थियो।”

कर्मैया स्वास्थ्य चौकीकी अनमि पुष्पा साह भन्नुहुन्छ “टोइलेट पनि महिला र पुरुषले प्रयोग गर्ने छुट्याएको थिएन । अरु चाहिं धेरै कुराहरु हामीले कस्तो क्रियाकलाप गर्दा विरामीको स्वास्थ्यमा असर पर्छ र स्वास्थ्यकर्मी स्वयंलाई पनि असर पर्छ भन्ने त्यत्ति नियालेर हेर्ने गरेका थिएनौं ।”
स्वास्थ्य सेवामा आएको सकारात्मक परिवर्तन
वाग्मती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पदम रायमाझीले पनि कार्यक्रमको प्रभावकारिता उल्लेख गर्दै भन्नुभयो, “ढुङ्ग्रे स्वास्थ्य चौकीमा अहिले सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको छ।

पहिलेको तुलनामा स्वास्थ्य चौकी व्यवस्थित, सफा र सेवा उन्मुख देखिन्छ। बाहिरबाट आउनुभएका सेवाग्राहीहरूले पनि स्वास्थ्यचौकीको स्तरप्रति प्रशंसा व्यक्त गर्नुहुन्छ। हामी सधैँ भन्न्छौं, यसमा छायाँ नेपाल र युनिसेफको महत्वपूर्ण योगदान छ, नगरपालिकाको समेत सहकार्य रहेको छ।”
अध्ययनले देखाउँछ गम्भीर चुनौती
स्वास्थ्य सेवा विभागद्वारा सन् २०२१ र २०२२ मा गरिएको अध्ययन अनुसार मधेस प्रदेशका स्वास्थ्य संस्थाहरूमा वास सेवामा गम्भीर चुनौतीहरू देखिएका छन्। ८० प्रतिशत स्वास्थ्य संस्थामा शौचालय भए पनि ती मध्ये ४० प्रतिशत प्रयोग योग्य छैनन्। ३० प्रतिशत संस्थामा स्वास्थ्यसंस्थाजन्य फोहोर व्यवस्थापन प्रणाली नै छैन भने २० प्रतिशत संस्थाले बाह्य स्रोतबाट खानेपानी आपूर्ति गरिरहेका छन्।

युनिसेफ नेपाल, छायाँ नेपाल र सम्बन्धित पालिकाको सहकार्यमा सञ्चालित सुरक्षित रूपमा व्यवस्थित र जलवायु उत्थानशील खानेपानी, सरसफाइ र स्वच्छता सेवा सुविधाहरूका लागि प्राविधिक सहयोग कार्यक्रम अन्तर्गत ६ वटा स्वास्थ्य संस्थाहरुका साथै मधेस प्रदेशका १३ वटा सामुदायिक विद्यालयहरुमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ भने धनुषाको मिथिला नगरपालिका – ८ स्थित २३० घरपरिवारको जमुनिबासलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ।
दिगोपनका लागि स्थानीय नेतृत्व सहितको संरचना तयार
मधेस प्रदेशका स्वास्थ्य संस्थाहरूमा खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापन सुधार गर्ने उद्देश्यले छायाँ नेपालले केवल पूर्वाधार निर्माणमा मात्र ध्यान नदिई त्यसको दिगो व्यवस्थापन सुनिश्चित गर्न स्थानीय नेतृत्व र संरचना समेत विकास गरेको छ।
छायाँ नेपालका टिम लिडर राम महर्जनले प्रत्येक स्वास्थ्य संस्थामा वास फिट कमिटी गठन गरिएको र जसले मासिक रूपमा बैठक बस्ने, अनुगमन गर्ने र समस्याहरु समाधानका लागि एक्सन प्लान बनाउने प्रक्रिया अघि बढाउने बताउनुभयो।

“हामीले हेल्थ केयर फ्यासिलिटीहरूमा वेस्ट म्यानेजमेन्ट गाइडलाइन पनि बनाएका छौं। यो गाइडलाइन अन्तर्गत कसरी संक्रमणजन्य फोहोर सुरक्षित रूपमा व्यवस्थापन गर्ने, कसको जिम्मेवारी के हो भन्ने स्पष्ट निर्धारण गरिएको छ। वास फिट कमिटीलाई थप जिम्मेवार बनाउँदै गाइडलाइन अनुसार काम गर्ने व्यवस्था मिलाइएको छ।” उहाँले भन्नुभयो।
स्वास्थ्य संस्था भित्रको वास पूर्वाधारहरू, जसमा शौचालय, हात धुने बेसिन, फोहोर व्यवस्थापन उपकरण जस्ता सामग्रीहरू पर्छन्, ती सबैको मर्मत, संभार तथा नियमित अनुगमनका लागि समय तालिका तयार पारिएको छ। “एक महिना एकचोटि अनिवार्य रूपमा वास फिट कमिटीको बैठक बस्छ, त्यहाँबाट स्वास्थ्य संस्थाको ओभरअल वास अवस्थाको समीक्षा हुन्छ र आवश्यक सुधारका कार्यहरू तय गरिन्छ,” महर्जनले भन्नुभयो।

उक्त संरचनागत व्यवस्थाले स्वास्थ्य संस्थामा सञ्चालित वास सेवा केवल परियोजना अवधिमा मात्र सीमित हुने नभै दिगो रूपमा निरन्तरता पाइरहेको स्पष्ट संकेत दिएको छ। यसले स्थानीय तहमा स्वामित्वको भावना विकास गरी, सेवा प्रदानको गुणस्तर सुधार गर्ने र स्वास्थ्य जोखिम न्यून गर्ने दिशामा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।

छायाँ नेपाल र युनिसेफको सहकार्यमा सञ्चालित कार्यक्रमले स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापन प्रणालीमा सुधार गर्दै स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पारिरहेको छ। यस्ता पहलहरू विस्तार हुँदै जान सकेमा मधेस प्रदेशको स्वास्थ्य सेवा प्रणाली अझ सबल र सुरक्षित बन्दै जानेछ भन्ने विश्वास गरिएको छ।



1623 पटक हेरिएको 

