काठमाडौ : सरकारले आर्थिक २०८२/०८३ मा खानेपानी र सरसफाइ क्षेत्रको लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । यो बजेट गत बर्षको तुलनामा ७ अर्ब २६ करोडले बढी हो । आर्थिक बर्ष २०८१/०८२ मा खानेपानी र सरसफाइ क्षेत्रको लागि २६ अर्ब ६१ करोड रकम विनियोजन गरेको थियो ।
खानेपानी तथा सरसफाइ क्षेत्रको बजेट वृद्धिबाट अपेक्षित दीर्घकालीन र प्रणालीगत प्रभावहरू पार्न सक्ने सम्भावना छ ।
१. सेवाको पहुँच विस्तार
बढ्दो बजेटले समावेशी सेवा वितरणमा तीव्रता ल्याउन सक्छ । खासगरी बजेटको प्रभावकारी कार्यान्वयन हुन सके दुर्गम तथा पिछडिएको भेगका समुदायहरूमा सुरक्षित र दिगो खानेपानी तथा सरसफाइ सेवा पुर्याउने सम्भावना बलियो हुन्छ। लक्षित समूहहरू (दलित, जनजाति, गरिब वर्ग) लाई पहुँच सुनिश्चित गर्न ‘समान पहुँच नीति’ कार्यान्वयनमा मद्दत पुग्न सक्छ।
२. पूर्वाधार विकास
उल्लेखनीय बजेटले भौतिक पूर्वाधार निर्माण र सुधारमा बल पु¥याउने अवसर दिन्छ। ग्रामीण क्षेत्रमा नयाँ जलस्रोतको संरक्षण, लिफ्टिङ र वितरण प्रणालीको स्थापना सम्भव हुन्छ। यस्तै सहरी क्षेत्रहरूमा ढल व्यवस्थापन, खानेपानी प्रशोधन केन्द्र निर्माण, क्लोरिनेसन प्रणाली जडान र सार्वजनिक शौचालयहरूको निर्माण तथा सुधार गर्न सकिन्छ।
प्रविधिमैत्री प्रणाली (जस्तै स्मार्ट मिटरिङ, रिमोट मोनिटरिङ) अपनाउने सकिन्छ । जसले गर्दा दीगो खानेपानी तथा सरसफाइ सेवाको सुनिश्चितता गर्न सकिन्छ ।
३. रोजगारी सिर्जना
विस्तारित योजना र पूर्वाधार निर्माणले स्थानीय तहमा रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छ । परियोजना निर्माणका क्रममा स्थानीय मजदुर, प्राविधिक, इञ्जिनियर, ड्राइभर आदि आवश्यकता पर्छ। सञ्चालन तथा मर्मतका लागि लामो समयका लागि दक्ष जनशक्ति आवश्यक पर्न सक्छ । जसले गर्दा ठूलो संख्यामा अस्थायी रोजगारी र केही स्थायी रोजगारीको अवसर पनि सिर्जना गर्न सक्छ। महिला तथा युवा लक्षित उद्यमशीलता प्रवद्र्धनका अवसर पनि यससँग जोडिन सक्छन् । जस्तै साबुन उत्पादन, ह्यान्डवास स्टेशन निर्माण, वा पाइप-प्लम्बिङ सेवा आदि।
४. जनस्वास्थ्यमा सुधार
सुरक्षित खानेपानी र सरसफाइ सेवामा बजेट वृद्धि हुनु भनेको विभिन्न सरुवा रोगहरु नियन्त्रणमा लगानी गर्नु हो। सुरक्षित खानेपानीले झाडापखाला, हैजा, टाइफाइडजस्ता पानीजन्य रोगहरू घटाउँछ। सरसफाइ तथा स्वच्छता सुधारले हातको स्वच्छता तथा महिनावरी स्वच्छता व्यवस्थापन, बालबालिकाको पोषण अवस्था र विद्यालयको उपस्थिति दरमा समेत सुधार ल्याउँछ।
सरकारले खानेपानी तथा सरसफाइ क्षेत्रप्रति देखाएको बजेटीय प्रतिबद्धता सकारात्मक छ । तर बजेटको आकार मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र समावेशीताको सुनिश्चितता अझ महत्त्वपूर्ण पक्ष हो।
यदि यो बजेट योजनाबद्ध र उत्तरदायित्वपूर्ण ढंगले कार्यान्वयनमा आउने हो भने नेपालले दिगो विकास लक्ष्य (SDG) अन्तर्गत सुरक्षित खानेपानी र सरसफाइमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छ।


451 पटक हेरिएको 

