३० बर्ष अघि जर्मन सरकारले बनाएको धुलिखेल खानेपानी आयोजना जर्मन सरकारले नै पुनःनिर्माण गर्ने

धुलिखेल : असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको जर्मन सरकारको सहयोगमा पुनर्निर्माण सुरू गरिएको छ । नेपालका लागि जर्मनीका राजदूत डा माइकल कोच र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले खानेपानी आयोजना पुनःनिर्माण कार्यको शिलान्यास गर्नुभयो।

यो खानेपानी आयोजना २०५४ सालमा तत्कालीन श्री ५ को सरकार, संघीय गणतन्त्र जर्मनी सरकार र स्थानीयको सहभागितामा सम्पन्न भएको थियो। पनौती–१२ मा मुहान रहेको धुलिखेल खानेपानी आयोजनाको तत्कालीन राजा बीरेन्द्र बीर विक्रम शाहदेवले २०५४ साल मंसिर २० गते उदघाटन गर्नु भएको थियो।

मुहान क्षेत्रमा क्षति पुगेको आयोजना रू तीन करोड ५१ लाखमा पुनर्निमाण गरिने जनाइएको छ । जर्मन सरकारबाट ६० प्रतिशत अर्थात रू एक करोड ४५ लाख अनुदान प्राप्त भएको नगर प्रमुख ब्याञ्जुले बताउनुभयो । उहाँका अनुसार बाँकी ४० प्रतिशत रकम नगर तथा र खानेपानी उपभोक्ता समितिले व्यहोर्ने छ ।

जर्मन सरकारले नै ३० बर्षअघि उक्त आयोजना निर्माणमा सहयोग गरेको थियो । बाढीपहिरोको क्षतिपछि नगरले जर्मन राजदूतावासमा सहयोगका लागि अनुरोध गरेको थियो । जर्मन सहयोग नियोग (जिआइजेड) मार्फत काठमाडौँ स्थित जर्मनीको दूतावासले रू एक करोड ४५ लाख रकम सहयोग गर्ने सम्झौतापछि पुनःनिर्माण सुरू गरिएको ब्याञ्जुले जानकारी दिनुभयो ।

प्राप्त सुहयोग रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचना पुनर्निर्माण गरिने जनाइएको छ । बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका थिए । त्यतिबेला करिब २० लाख खर्चेर अस्थायी व्यवस्थापन गरी खानेपानी सञ्चालन भए पनि दीर्घकालीन सुविधाका लागि पुनर्निर्माण सुरू भएको हो ।

राजदूत कोचले विपद्ले मानिसका लागि सबैभन्दा महत्त्वपूर्ण खानेपानी आयोजनामा क्षति पुगेकामा दुःख व्यक्त गर्दै जर्मन सरकारको सहयोग रकमले आयोजनालाई टेवा पुग्ने बताउनुभयो । उहाँले मुहान क्षेत्र सुरक्षित बनाउन सुझावसमेत दिनुभयो ।

आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका–१२ स्थित पालपाले गाउँका विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । सोही वडाको सप्तकन्याबाट ल्याइएको खानेपानी तीन हजार २०० घरपरिवारले उपभोग गर्दै आएका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार