भेरी नगरपालिकामा ग्रामीण खानेपानी सेवा सहायता केन्द्र स्थापना हुँदै

  वास खबर सम्बाददाता  474 पटक हेरिएको

जाजरकोट : जाजरकोटको भेरी नगरपालिकामा ग्रामीण खानेपानी योजनाहरूलाई दिगो र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनका लागि खानेपानी सेवा सहायता केन्द्र स्थापना हुने भएको छ। यस केन्द्रको स्थापनासँगै विगतमा निर्माण सम्पन्न भई राम्रो सँग नचलेको अवस्थामा रहेका खानेपानी योजनाहरूलाई सुचारु बनाउन उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसै सन्दर्भमा आज भेरी नगरपालिकाको आयोजनामा खानेपानी सेवा सहायता केन्द्र सम्बन्धी एक दिने अभिमुखिकरण गोष्ठी गरिएको छ। गोष्ठीमा सहभागी नगरस्तरीय प्राविधिक तथा सरोकारवालाहरू मार्फत खानेपानी योजनाहरूको अवस्था पहिचान गरी सुधारात्मक उपायहरू अवलम्बन गर्ने दिशामा छलफल भएको थियो।

कार्यक्रमको सहजीकरण सुस्वा आयोजनाको सहयोग इकाई, सुर्खेतले गरेको थियो।

सहभागीहरूले खानेपानी सेवा सहायता केन्द्रले अव्यवस्थित योजनाहरूलाई समेट्दै नगरपालिकाको समग्र खानेपानी प्रणाली सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।

खानेपानी सेवा सहायता केन्द्र एउटा यस्तो स्थानीय सेवा संयन्त्र वा इकाइ हो, जसको उद्देश्य निर्माण सम्पन्न भइसकेका ग्रामीण खानेपानी तथा सरसफाइ योजनाहरूको दीर्घकालीन सञ्चालन, मर्मत, व्यवस्थापन र प्राविधिक सहयोग सुनिश्चित गर्नु हो।

खानेपानी सेवा सहायता केन्द्रले खानेपानी योजना निर्माण सम्पन्न भएपछिको समस्या पहिचान, समाधान, अनुगमन, र प्राविधिक परामर्श जस्ता कार्यहरू गर्छ।

भेरी नगरपालिकाको यस पहलले स्थानीयस्तरमा खानेपानी सेवाको गुणस्तर, पहुँच र दीर्घकालीन व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
गोष्ठीमा कार्यापालिकाका सदस्यहरु, वडा सचिबहरु, वडा प्राबिधिकहरु र विषयगत शाखाका प्रमुखहरूको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार