दार्मा गाउँपालिकामा दुई दिने जल सम्मेलन सम्पन्न, दिगो खानेपानी तथा सरसफाइका लागि १२ बुँदे सामूहिक प्रतिबद्धता

  वास खबर सम्बाददाता  571 पटक हेरिएको

सल्यान : “सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता” भन्ने मूल नाराका साथ सल्यानको दार्मा गाउँपालिकाले दुई दिने जल सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ। सम्मेलनको उद्देश्य बिद्यमान खानेपानी तथा सरसफाइ योजनाको दिगोपना र सुचारुता सुनिश्चित गर्दै मर्मत तथा सम्भार प्रणालीलाई संस्थागत बनाउने रहेको थियो।

कार्यक्रममा दार्मा गाउँपालिकाभित्रका २५ वटा खानेपानी तथा सरसफाइ योजनाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सम्मेलनमा हालसम्मका संरचनाको अवस्था, मर्मत सम्भार कोषको स्थिति, कार्यविधिहरूको समीक्षा तथा ग्रामीण मर्मत सम्भार कार्यकर्ताको परिचालनसम्बन्धी गहन छलफल गरिएको थियो।

सम्मेलनको महत्वपूर्ण उपलब्धिका रूपमा गाउँपालिकाले सेवा सहायता केन्द्रमार्फत मर्मत सम्भार कार्यविधि अनुसार उपभोक्ता समितिसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ। यस समझदारी अनुसार:

√ प्रति धारा रु ५०० भन्दा कम लागत लाग्ने मर्मत सम्भार कार्य उपभोक्ता समितिले आफैं अगाडि बढाउने,

√  प्रति धारा रु ५०१ देखि रु १००० सम्म लाग्ने कार्यमा ७०% उपभोक्ताले र ३०% पालिकाले खर्च व्यहोर्ने,

√  प्रति धारा रु १००० भन्दा बढी लाग्ने कार्यमा ५०-५० को लागत साझेदारी रहनेछ,

√  ठूलो मर्मत वा पुनःस्थापना कार्यमा ८०% बजेट संघ/प्रदेश/गाउँपालिका मार्फत र २०% उपभोक्ताबाट जुटाइनेछ।

कार्यक्रममा पालिकास्तरबाट १२ बुँदे सामूहिक प्रतिबद्धता घोषणा गरिएको थियो भने सहभागी सबै उपभोक्ता समितिले सामूहिक हस्ताक्षरसहित प्रतिबद्धता पत्रमा सहमति जनाएका थिए।

सम्मेलनमा हालसम्म सबैभन्दा बढी मर्मत सम्भार कोष संकलन गर्ने तीन वटा उपभोक्ता समितिलाई सम्मानपत्र प्रदान गरिएको थियो। साथै, सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याउने तीन जना मर्मत सम्भार कार्यकर्ताहरूलाई समेत सम्मानित गरिएको थियो।

पालिकाका नीति तथा मापदण्ड अनुसार पालिका जलस्रोत समितिमा दर्ता भएका उपभोक्ता समितिहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता दार्मा गाउँपालिकाकी उपाध्यक्ष जुना मल्ल चन्दले गर्नुभएको थियो। सो अवसरमा सुशासन विज्ञ इ. निराजन श्रेष्ठ (सुस्वा परियोजना), प्रदेश सेवा सहायता केन्द्रका वास अफिसर धर्मराज छन्याल, पालिका वास युनिटका संयोजक प्रकाश चन्द्र थापा तथा वास सहजकर्ता पुष्पा केसी रोकायाले सहजीकरण गर्नुभएको थियो।

सम्मेलनको अन्त्यमा प्रत्येक उपभोक्ता समितिले आफ्नो योजना अनुरूप मर्मत तथा सम्भार कार्ययोजना तयार पारेका थिए। साथै, आगामी दिनमा खानेपानी प्रणालीलाई अझ दिगो र सुचारु बनाउन सामूहिक प्रतिबद्धता जनाउँदै कार्यक्रम सम्पन्न गरिएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार