
मेचीनगर : झापाको मेचीनगर नगरपालिकाका केही समुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुले पानीको प्यास मेटाउन अब कक्षा छोडेर न इनारसम्म दौडिनुपर्छ, न धारामा पालो कुर्नुपर्नेछ। कक्षाकै कुनामा राखिएको जारको टुटी खोल्ने बित्तिकै शीतल पानी झरझराउँनेछ, जुनबेला तिर्खा लाग्छ, त्यहीबेला सजिलै पिउन सकिने सुविधा बालबालिकाहरूको पहुँचमा हुनेछ।
यो परिवर्तनको सुरुवात चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजन चिमोरियाको संकल्प र सेवाभावबाट भएको हो।
उहाँको नेतृत्वमा संस्थाले हालै मेचीनगर नगरपालिकाका वडा नम्बर ११, १२, १३ र १४ अन्तर्गतका ७ वटा सामुदायिक विद्यालयमा निःशुल्क धारा जडान गर्ने अभियान सुरु गरेको छ। ती मध्ये ४ वटा विद्यालयमा धारा जडान भइसकेको छ भने बाँकी ३ वटा विद्यालयमा एक हप्ताभित्र काम सम्पन्न हुने अध्यक्ष चिमोरियाले जानकारी दिनुभयो।
विद्यालयमा पढ्ने बालबालिकाहरूको सहजताका लागि अब कक्षाकोठाभित्रै २० लिटर क्षमताका पानीका जार राखिने छन्। यसअघि कक्षाबाट बाहिर निस्केर इनार वा अन्य वैकल्पिक स्रोतबाट पानी पिउनुपर्ने बाध्यता अन्त्य गर्दै विद्यालयमै स्वच्छ र सहज पानीको पहुँच सुनिश्चित गर्न खोजिएको छ।
अझ उल्लेखनीय कुरा त के छ भने यी सबै काम संस्थाले विद्यालयहरूलाई निःशुल्क रूपमा उपलब्ध गराएको हो। धारा जडानको खर्च अध्यक्ष चिमोरियाले व्यक्तिगत रूपमा व्यहोर्नु भएको छ। उहाँकै निजी लगानीमा यसअघि पनि ६ लाख ५० हजार रुपैयाँभन्दा बढीको धारा जडान भइसकेको छ, जुन विभिन्न सामुदायिक संस्थामा गरिएको थियो।
यस योजनाको निर्णय संस्थाले सर्वपक्षीय भेला मार्फत लिएको हो, जहाँ संस्थाका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरू सहभागी थिए।
राजन चिमोरिया सामाजिक सेवामा निरन्तर क्रियाशील नाम हो, जहाँ आवश्यक छ, त्यहाँ उहाँको उपस्थिति देखिन्छ। उहाँले भोलिका दिनमा मेचीनगरका ४२ वटै सामुदायिक विद्यालयमा कुनै न कुनै किसिमका कार्यक्रम पुर्याउने आफ्नो व्यक्तिगत योजना रहेको वास खबर सँग सुनाउनु भयो।
विद्यालयको कक्षाभित्रसम्म पानी पुर्याउने काम केवल जार राखिदिनु मात्र नभई कक्षाकोठामा शैक्षिक वातावरण बनाउनु र बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने काममा इटा थप्ने काम पनि भएको अध्यक्ष चिमोरियाले बताउनुभयो।


585 पटक हेरिएको 

