कर्णालीका २७ पालिकाका वास सहजकर्तालाई पानी परीक्षण तालिम

  वास खबर सम्बाददाता  1348 पटक हेरिएको

सुर्खेत : कर्णाली प्रदेशको २७ वटा स्थानीय तहका वास युनिटका सहजकर्तालाई खानेपानी गुणस्तर परीक्षण सम्बन्धी तालिम दिईएको छ । वर्षातको समयमा बढ्न सक्ने पानीजन्य रोगहरूको रोकथाम तथा जनचेतनामा सशक्त प्रभाव पार्ने उद्देश्यले सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) अन्तर्गतका २७ पालिकाका सहजकर्ताहरुलाई ३ दिने तालिम दिईएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागको गुणस्तर सुधार तथा सेवा नियमन शाखा प्रमुख सिडिई सन्जु लामिछाने र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख सिडीई मनिष कुमार राजको उपस्थिती रहेको थियो। उद्घाटन सत्रमा सिडीई लामिछानेले नेपाल सरकारद्वारा तोकिएको खानेपानी गुणस्तर मापदण्ड तथा अनुगमन प्रणालीबारे सहभागीहरुलाई विस्तृतमा जानकारी गराउनुभयो।

तालिमलाई अझ प्रभावकारी बनाउन भेरीगंगा नगरपालिका–सानोहर्रेमा स्थलगत अभ्यास गराइएको थियो। यस क्रममा सहभागीहरूले वाक टेक र एन्फो किटको प्रयोग मार्फत पानीको नमुना परीक्षण गरी रिपोर्ट तयार गर्ने अभ्यास गरेका थिए । उक्त रिपोर्टलाई N-WASH प्रणालीमा समावेश गर्ने प्रक्रिया समेत सिकाइएको थियो।

त्यस्तै, सुस्वाद्वारा प्रबर्द्वन गरिरहेको Inline Chlorination प्रविधिबारे पनि विस्तृत जानकारी दिइएको थियो। तालिममा सिकिएका सीप र ज्ञानलाई स्थानीय खानेपानी योजनामा प्रभावकारी ढंगले प्रयोग गरिने त्रिपुरासुन्दरी नगरपालिकाका वास युनिटका सेवा सहायता केन्द्र (खा.उ.स.) सहजकर्ता दानबहादुर थापाले बताउनुभयो।

यो तालिम क्ग्क्ध्ब् को यस आर्थिक वर्षको पहिलो कार्यक्रम समेत हो, जसले वर्षा याममा उच्च जोखिममा रहने समुदायमा जनस्वास्थ्य सुरक्षा अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तालिम खानेपानी तथा ढल व्यवस्थापन विभागको गुणस्तर सुधार तथा सेवा नियमन शाखा र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, सुर्खेतको प्राविधिक सहकार्यमा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना ९सुस्वा०ले आयोजना गरेको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार