मधेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने मन्त्रीपरिषदको निर्णय

  वास खबर सम्बादाता  396 पटक हेरिएको

काठमाडौ : मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

खानेपानीमन्त्री प्रदीप यादवका अनुसार मधेश प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट भएको हो । ‘मधेश प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनको पानीको कमीले सिँचाइ प्रणालीमा समेत प्रभाव परेको छ । भूमिगत पानी र पानीका मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानी र सिँचाइको पानीको चरम अभाव भएकाले यो निर्णय गरिएको हो,’ उहाँले भन्नुभयो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १४ को उपदफा २ (द) मा विपद् प्रभावित क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने अवस्था रहेमा नेपाल सरकार समक्ष सिफारिस गर्ने व्यवस्था छ ।

मधेश प्रदेश सरकारले मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मधेश प्रदेश सरकारबाट पनि निर्णय भएर आएको हुँदा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक रहेको गृह मन्त्रालयले जनाएको खबर कान्तिपुरले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार