हात धुने नायक बनौँ भन्ने नाराका साथ विश्व हात धुने दिवस मनाईयो

  वास खबर सम्बाददाता  469 पटक हेरिएको


रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा “Be a Handwashing Hero!  हात धुने नायक बनौँ !” भन्ने मूल नाराका साथ विश्व हात धुने दिवस–२०२५ उत्साहपूर्वक मनाइएको छ।

सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाको सहजीकरणमा मनाईएको दिवसमा समुदायमा साबुनपानीले हात धुने बानी बसाल्न प्रेरणा दिने उद्देश्यका साथ जनचेतनामूलक प्रदर्शन, सांगीतिक प्रस्तुति र व्यवहारिक अभ्यास गरिएको वास संयोजक शेर बहादुर ओलीले जानकारी गराउनुभयो भयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट भन्नुभयो “स्वच्छता नै स्वास्थ्यको आधार हो। नियमित रूपमा हात धुनुले रोग संक्रमणको जोखिम घटाउँछ” दिवसले सबैमा स्वच्छता र स्वास्थ्य प्रति जागरूकता बढाउने विश्वास लिएको उहाँले बताउनुभयो।


त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले स्वच्छ समाज निर्माणमा सबैको योगदान आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘विश्व हात धुने दिवसको वास्तविक सार्थकता तब मात्र हुन्छ, जब हामी सबैले हात धुने अभ्यासलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउँछौं।’


स्वास्थ्य विशेषज्ञहरूका अनुसार साबुन र सफा पानी प्रयोग गरी कम्तीमा २० सेकेण्डसम्म हात धुनु रोग नियन्त्रणको सरल, सस्तो र प्रभावकारी उपाय हो। यसले हैजा, झाडापखाला, रुघाखोकी, निमोनिया लगायतका सङ्क्रमणजन्य रोगहरूबाट बच्न सहयोग गर्छ।

कार्यक्रमका अवसरमा विद्यालय वाल क्लब र किशोरी समूहका विद्यार्थीहरूले गीत, नृत्य र नाट्य मार्फत हात धुने पाँच चरणहरूको जीवन्त प्रदर्शन गरेका थिए। साथै, सहभागीहरूले सामूहिक रूपमा साबुन–पानी प्रयोग गरी व्यवहारिक हात धुने अभ्यास पनि गरेका थिए।


यस वर्षको विश्व हात धुने दिवसले सानीभेरी गाउँपालिकामा स्वच्छता र स्वास्थ्यप्रतिको प्रतिबद्धता थप सुदृढ भएको जनाइएको छ।

गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, विभिन्न शाखा प्रमुखहरू, वडा सचिवहरू, वास इकाइका प्रतिनिधिहरू, विद्यालय वाल क्लबका विद्यार्थी, किशोरी समूहका सदस्यहरू तथा आमा समूहका महिलाहरूको उल्लेखनीय उपस्थिति र सक्रिय सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार