
काठमाडौ : नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले देशैभरिका नगरपालिकामा उद्योगी व्यवसायीलाई सरसफाइमा लगानीको वातावरण बनाउन समन्वय गर्ने बताउनु भएको छ । अध्यक्ष ढुंगानाले लगानीका लागि उद्योगीहरुले विभिन्न नीतिगत समस्याहरु झेल्दै आएको र त्यसको लागि सहजीकरणको भूमिका निर्वाह गर्न आफू तयार रहेको बताउनुभयो।
“सरसफाइ सेवाको व्यवस्थापन, प्रबर्द्वन र सामाजिक उत्तरदायित्वलाई व्यवसायिक मोडेलमा रुपान्तरण” गर्ने बिषयमा मिडिया हेल्पलाइनले गरेको छलफल कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुले नीतिगत अस्पष्टताका कारण लगानीकर्ताले सरसफाइ क्षेत्रमा हालसम्म लगानी गर्न नसकेको बताएका थिए।
“सरसफाइ क्षेत्रमा लगानी गर्ने वातावरण छैन भन्ने कुरा गर्नुभयो, हो म मान्छु नीतिगत अस्पष्टताका कारण लगानी गर्न गाह्रो छ । आकर्षण दिलाउन सकेको छैन, सरल कर्जा सुविधा, पानी तथा जग्गाको सुविधा होला, करमा सहुलियत जस्ता आकर्षणहरु दिलाउन सकिन्छ” सोही कार्यक्रममा अध्यक्ष ढुंगानाले उद्योगीहरुलाई आश्वास्त पार्दै भन्नुभयो “अझै वितिसकेको छैन । तपाईहरु कहाँ कहाँ के के गर्नुहुन्छ ? त्यो कुरा हामीलाई भन्नुहोस्।”
“२९३ वटै नगरपालिकाहरुमा के के गर्न खोज्नुहुन्छ ? त्यो तपाईको छनौटको कुरा भयो, कुन नगरपालिकामा कस्तो किसिमको काम गर्न चाहनुहुन्छ ? त्यहाँका स्थानीय सरकारहरुले कस्तो खालको वातावरण बनाउनुपर्यो ? म सम्बन्धित नगरपालिकाको मेयर तथा उपमेयरहरुलाई एकै ठाउँमा राखेर छलफल गरेर लगानीको बातावरण बनाउने काममा सहजीकरण गर्नेछु ।” उहाँको प्रतिबद्धता थियो।
विस्तृतमा हेर्नुहोस् भिडियो :
उहाँले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा उद्योगीका मागहरु समेट्न सकिने भन्दै उद्योगी व्यवसायीलाई आव्हान गर्नुभयो “म्याचिङमा कत्ति लगानी गर्नुपर्छ ? आउनुस न, हामी सहलगानी गर्न तयार छौं।” नेपाल नगरपालिका संघका अध्यक्ष ढुंगाना धादिङको निलकण्ठ नगरपालिकाको मेयर समेत हुनुहुन्छ।
अध्यक्ष ढुंगानाले नेपालभरिका सात वटा प्रदेशका सात वटा नगरपालिकालाई सरसफाइमा नमुना बनाउने हेतुले काम भैरहेको र यसमा पनि सहकार्य गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य भक्त हमाल, नेपाल वायोग्यास प्रमोसन एसोसिएसनका अध्यक्ष उपेन्द्र रिमाल, नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुके लगायतले सरसफाइ क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने बिषयमा आ आफ्नो विचार व्यक्त गरेका थिए ।

वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको समन्वयमा र गेट्स फाउण्डेसनको वित्तिय व्यवस्थापनमा देशभरिका सात वटा नगरपालिकामा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम नेपाल (Scalling of Citywide Inclusive Sanitation Service System program) सञ्चालन भैरहेको छ ।
कार्यक्रम सञ्चालित नगरपालिकामा नगरस्तरीय मानव मलमूत्र व्यवस्थापन सम्बन्धी कानुनी औजारहरु निर्माण गर्ने, मानव मलमूत्र व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन तथा सुदृढीकरण गरी एन वासमा अद्यावधिक गर्ने, नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी क्षमता विकास गर्न विभिन्न तालिमहरु सञ्चालन गर्ने र संस्थागत प्रारुप तयार गर्ने लगायत प्राविधिक सहयोग भैरहेको छ ।
नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रमको संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) कार्यकारी निकाय हो ।


323 पटक हेरिएको 

