मानव मलमूत्रबाट सम्भव छ हरित सरसफाइ र नवीकरणीय उर्जा

  वास खबर सम्बाददाता  218 पटक हेरिएको

काठमाडौ : दिगो ऊर्जा उपयोग, वातावरणीय संरक्षण, र सार्वजनिक स्वास्थ्य सुरक्षाका सन्दर्भमा बायोग्यास प्रबर्द्वन एक महत्वपूर्ण विकल्पका रूपमा उभिएको छ। विशेषगरी ग्रामीण तथा अर्ध शहरी क्षेत्रमा जैविक फोहर, पशुपन्छीको मल, र मानव मलमूत्रलाई सुरक्षित रूपमा प्रशोधन गरी उपयोगी ऊर्जा उत्पादन गर्ने बायोग्यास प्रणालीले बहुआयामिक फाइदा प्रदान गर्छ।

यसरी उत्पादित ऊर्जा खाना पकाउने, तातोपानी तताउने तथा घरायसी प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले परम्परागत इन्धनका विकल्पका रूपमा यसको महत्व झन् बढ्दै गएको छ।

मानव मलमूत्रको सुरक्षित व्यवस्थापन हरेक समुदायका लागि प्राथमिक स्वास्थ्य आवश्यकता हो। उचित प्रशोधन नभएको मानव फोहरले माटो, भूमिगत पानी तथा सतही जलस्रोतमा प्रदूषण फैलाउने खतरा रहन्छ, जसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ।

बायोग्यास प्रणालीले मानव मलमूत्रलाई एनारोबिक डाइजेसन प्रक्रियाबाट प्रशोधन गरी बायोग्यास र बायोस्लरी (बायोग्यास उत्पादनको क्रममा बाँकी रहेको अवशेष) उत्पादन गर्छ। बायोस्लरी उच्च गुणस्तरको जैविक मलका रूपमा प्रयोग गर्न सकिन्छ भने बायोग्यास स्वच्छ घरेलु इन्धनका रूपमा उपयोग हुन्छ। यसरी बायोग्यास प्रबर्द्वनले मलमूत्र व्यवस्थापनलाई ऊर्जा उत्पादन तथा कृषि सुधारसँग प्रत्यक्ष सम्बन्धित बनाइदिन्छ।

नेपाल बायोग्यास एसोसिएसनका अध्यक्ष उपेन्द्र रिमालका कुरा सुनौ/हेरौं : 

बायोग्यास प्रबर्द्वनले सुरक्षित मानव मलमूत्र व्यवस्थापन कसरी सम्भव बनाउँछ भन्ने विषयलाई प्राविधिक दृष्टिले विश्लेषण गर्दा तीन प्रमुख पक्ष छन्।

पहिलो, प्रशोधन प्रणाली र स्वास्थ्य सुरक्षा हो । बायोग्यास प्लान्टको डाइजेस्टरमा मानव मलमूत्र एक निश्चित तापक्रम, समय, र एनारोबिक वातावरणमा विघटन हुँदा रोगजनक सूक्ष्मजीवहरूको संख्या उल्लेखनीय रूपमा घट्छ। यो प्रक्रिया पूर्ण रूपमा सीलबन्द भएकोले मलमूत्र वातावरणमा खुला रूपमा नफैलिने र दुर्गन्ध नबढ्ने सुनिश्चित हुन्छ।

दोस्रो, प्रशोधनपछि प्राप्त बायोस्लरी कृषि प्रणालीमा सुरक्षित रूपमा प्रयोग गर्न मिल्दो हुन्छ। यसमा नाइट्रोजन, फस्फोरस तथा पोटासियम जस्ता पोषणतत्व प्रशस्त मात्रामा हुने भएकाले रासायनिक मलमा निर्भरता घट्छ। यसले कृषि उत्पादकत्वमा सुधार ल्याउने मात्र होइन, माटोको दीगो उर्वराशक्ति कायम राख्न पनि योगदान पुर्‍याउँछ।

तेस्रो, बायोग्यास प्रणालीले समुदायमा स्वास्थ्य सुरक्षाको वातावरण निर्माण गर्छ। खुला फोहोर व्यवस्थापन, सेप्टिक ट्याङ्कको अनियमित सफाइ, वा मानव मलमूत्रको बाहिरी निष्काशनले हुने रोगहरूको जोखिम कम हुन्छ। गाउँ तथा परिवार स्तरमै बायोग्यास प्रबर्द्वन भएमा ऊर्जा, कृषि, फोहोर व्यवस्थापन र स्वास्थ्य, यी चारै क्षेत्रमा प्रत्यक्ष लाभ प्राप्त हुन्छ।

यसरी हेर्दा बायोग्यास प्रबर्द्वन केवल ऊर्जा उत्पादन प्रविधि मात्र नभई एकीकृत वातावरणीय तथा स्वास्थ्य व्यवस्थापन उपाय हो। स्थानीय तहमा बायोग्यास प्रबर्द्वन नीतिगत रूपमा वा विकास परियोजना मार्फत अगाडि बढाइने हो भने मानव मलमूत्रको सुरक्षित व्यवस्थापन सहज, प्रभावकारी र दीगो रूपमा सुनिश्चित गर्न सकिन्छ।

ग्रामीण विकास, कृषि प्रणाली, स्वच्छता सेवा र वातावरण संरक्षणको समग्र दृष्टिले पनि बायोग्यास प्रणालीलाई एक भरपर्दो र दिगो समाधानका रूपमा लिन सकिन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार