कर्णालीलाई चार बर्ष भित्र पूर्ण सरसफाइ उन्मुख प्रदेश बनाउने साझा प्रतिवद्धता

  गोविन्द खत्री  457 पटक हेरिएको


सुर्खेत : कर्णाली प्रदेशलाई अबको चार बर्ष भित्र पूर्ण सरसफाइ उन्मुख प्रदेश बनाउनका लागि सरसफाइ अभियानलाई योजनाबद्ध रुपमा अगाडि बढाउने प्रतिबद्धता गरिएको छ ।

विश्व शौचालय दिवशका अवसरमा आज वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले सन २०३० सम्म पूर्ण सरसफाइ उन्मुख प्रदेश बनाउने लक्ष्य हासिल गर्नका लागि स्पष्ट योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

दिगो विकास लक्ष्य अनुरुप सन २०३० सम्म सबै नेपालीको आधारभूत खानेपानी तथा सरसफाइ सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्नेुपर्ने दायित्व नेपाललाई छ । यही लक्ष्य प्राप्तिका लागि योजनाबद्ध रुपमा काम गर्ने कुरामा कर्णालीका सरोकारवालाहरु एकमत भई प्रतिबद्धता जनाएका हुन् ।

कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयका सचिव मोहन कुमार शाक्यले कर्णालीलाई आगामी चार बर्षभित्र पूर्ण सरसफाइ उन्मुख प्रदेश सुनिश्चित गर्नका लागि सामूहिक प्रण गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । नागरिक, नागरिक समाज संघ संस्था, निजी क्षेत्रको सक्रिय सहभागिताले मात्रै अभियानले सार्थकता पाउने भन्दै त्यसको नेतृत्व भने सरकारले गर्ने सचिव शाक्यले स्पष्ट पार्नुभयो । अब नागरिकसँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारको अगुवाईमा सरसफाइ अभियान अघि बढाउनुपर्ने र प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृष बहादुर शाहीले स्वास्थ्यका लागि सरसफाइ अनिवार्य भएको भन्दै सरकार र संघ संस्थाले सञ्चालन गर्ने कार्यक्रममा भौतिक विकास मात्र नभई सचेतनाका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । स्वास्थ्यका सूचकहरुमा सुधार ल्याउनका लागि पनि पूर्ण सरसफाइ नभई नहुने बताउँदै शाहीले आगामी दिनमा स्पष्ट योजना बनाएर लाग्न आवश्यक रहेको औँल्याउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजनाका खानेपानी सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्द रोकायले सरसफाइ अभियानलाई सफल तुल्याउनका लागि सरकारले नै नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । स्पष्ट योजना भए मात्र सन २०३० सम्म पूर्ण सरसफाई उन्मुख सुनिश्चित प्रदेशको लक्ष्यमा पुग्न सकिने भन्दै प्रदेशको स्पष्ट वास योजना निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभयो।

कार्यक्रममा सुन्दर नेपाल संस्थाकी अध्यक्ष माया सापकोटाले सरकारी निकायको नेतृत्वदायी भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले गैरसरकारी संस्थाहरुले छरिएर गरेका कार्यक्रमलाई आगामी दिनमा वास क्लष्टरसँग निकटम रुपमा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

निजी क्षेत्रका प्रतिनिधिका रुपमा छलफलमा सहभागी वास सामग्री विक्रेता साटो ब्राण्डको नेपालको अधिकृत विक्रेता नेष्ट सप्लायर्स नेपालगञ्जका सञ्चालक दिपेन्द्र सिंहले सरसफाइ सम्बन्धी सामग्री उत्पादन र वितरणमा सरकारले सहुलियत दिन सके नागरिकले सस्तो मूल्यमा पाउन सक्ने बताउनुभयो । दिगो सरसफाइका लागि सरसफाइ सम्बन्धी सामग्रीको सहज र सस्तोमा उपलब्धता हुन जरुरी रहेको भन्दै सिंहले सरसफाइ बजार प्रबर्द्वनमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रियामा सहभागीहरुले सरसफाइ सबैको सरोकारको विषय भएकाले साझा प्रण आवश्यक रहेको औँल्याएका छन् ।

खुला दिसामुक्त अभियानमा देशकै नेतृत्व गरेको कर्णाली प्रदेश २०७५ सालमा खुला दिसा मुक्त हुने पहिलो प्रदेश बनेको थियो । त्यस यता भने सरसफाइ अभियानले तिब्रता पाउन सकेको छैन ।

आज विश्व शौचालय दिवसका अवसरमा वास क्लष्टर कर्णाली प्रदेशको आयोजनामा संवाद कार्यक्रमको आयोजना गरी सरसफाइ अभियानलाई तिब्रता दिने विषयमा छलफल भएको हो ।

विश्व शौचालय दिवसको यस बर्षको नारा ‘शौचालयः सधैँ सबैका लागि अनिवार्य’ भन्ने रहेको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार