
सप्तरी : सप्तरीको पाँच पालिकामा “परिवर्तनशील विश्वमा सरसफाइ” भन्ने मूल नारा सहित विश्व शौचालय दिवस २०२५ विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईएको छ । महुली सामुदायिक विकास केन्द्र, सप्तरी र Welthungerhilfe (WHH) को सहयोगमा सञ्चालित Up-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepalपरियोजना अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण, विष्णुपुर, डाक्नेश्वरी, राजगढ र सप्तकोशी गरी पाँचै पालिकामा दिवस मनाईएको हो ।
शौचालय दिवसको अवसर पनि पाँचै पालिकाका विद्यालय तथा समुदाय केन्द्रित सरसफाइ प्रवर्द्धनका गतिविधिहरू औपचारिक रूपमा सञ्चालन गरिएको पालिका संयोजक प्रमिला चौधरीले जानकारी गराउनुभयो। उहाँका अनुसार सप्तकोशी नगरपालिकाको राष्ट्रिय विशेश्वर बैरागी बिद्यालय र विष्णुपुर गाउँपालिकाको जनता आधारभूत विद्यालय, तथा राजगढ गाउँपालिकाको जनता मा.वि. बेल्ही चपेना लगायतका विद्यालयहरूमा ‘ट्वाइलेट सिट म्युजिकल चेयर’ जस्ता सिकाइमैत्री प्रतिस्पर्धात्मक गतिविधि सञ्चालन गरिएको छ ।
विद्यार्थीमैत्री यस्ता कार्यक्रमले सुरक्षित शौचालय प्रयोगबारे व्यवहारगत परिवर्तन ल्याउन सहायक भएको सम्बन्धित विद्यालयका प्रधानाध्यापक रुप्कान्त मिश्र र मोहन पराजुलीले बताउनुभयो। डाक्नेश्वरी नगरपालिकामा वडा स्तरीय सरसफाइ समन्वय समितिको नेतृत्वमा पर्बहा पण्डित टोलमा घर–घरको शौचालय अनुगमन गरिएको थियो। अनुगमन मार्फत तत्काल सुधार आवश्यक विषयमा प्राविधिक मार्गदर्शन प्रदान गरिनुका साथै उत्कृष्ट शौचालय व्यवस्थापन गर्ने परिवारलाई ‘श्रेष्ठ शौचालय पुरस्कार’ समेत प्रदान गरिएको थियो।

पुरस्कार वितरणले समुदायमा स्वच्छता अभ्यासलाई थप मजबुत बनाएको वडा नं.–८ का वडाध्यक्ष सिताराम पण्डितले बताउनुभयो।अग्निसाइर कृष्णासवरण गाउँपालिकाको जलेबिया टोलमा ‘स्वच्छ घर, सुरक्षित घर’ अभियान अन्तर्गत शौचालय पूर्व–प्रचार तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा स्थानीय महिला समूह, बाल क्लब, सामाजिक अगुवा तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता थियो।
वडा अध्यक्ष सब्जुल खलिफाले समुदायस्तरमा सरसफाइबारे जनचेतना अभिवृद्धिमा यस्ता गतिविधि प्रभावकारी रहेको बताउनुभयो। त्यस्तै, गाउँपालिका–६ को चौधरी बस्तीमा स्वास्थ्य चौकी प्रमुख राजकुमार यादवद्वारा शौचालय सम्बन्धी सचेतना अभिवृद्धि सत्र सञ्चालन गरिएको थियो।
विश्व शौचालय दिवसको अवसरमा पाँचै पालिकामा बाल–बालिकामुखी सरसफाइ सचेतना कार्यक्रम पनि आयोजना गरियो, जहाँ बालबालिकालाई सुरक्षित शौचालय प्रयोग, हात धुने सही विधि तथा घर–घरमा सरसफाइ सन्देश फैलाउन उनीहरूको भूमिकाबारे प्रशिक्षण दिइएको थियो।

स्थानीय सरकार, विद्यालय, समुदाय तथा महुलि सामुदायिक विकास केन्द्रको समन्वयमा सम्पन्न कार्यक्रमहरूले पाँचै पालिकामा सुरक्षित सरसफाइ प्रवर्द्धन, व्यवहार परिवर्तन तथा दीर्घकालीन वास प्रणाली सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको वाश अधिकृत सन्तोष चौधरीले जानकारी दिनुभयो।



442 पटक हेरिएको 

