लैंगिक समानता र मर्यादित जीवनका लागि सबैपक्ष बीच सहकार्य आवश्यक : राजदूत पेट्री

  वास खबर सम्बाददाता  370 पटक हेरिएको

काठमाडौ : नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले लैंगिक समानता, मर्यादित जीवन र सुरक्षित वातावरण सुनिश्चित गर्न सबै पक्षको सशक्त सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियानमा उहाँले विशेष रूपमा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाले कर्णाली प्रदेशमा महिनावारी स्वच्छता व्यवस्थापन, लैंगिक समानता प्रवर्द्धन तथा सामाजिक समावेशीकरणको क्षेत्रमा गरेका पहलहरूको प्रशंसा गर्दै उक्त परियोजनाले समुदायस्तरमा मात्र नभई नीतिगत तहमा समेत प्रभाव पारिरहेको उल्लेख गर्नुभयो।

महिनावारीमैत्री सुविधा, महिला र किशोरीका हकहितका विषयहरू स्थानीय सरकारका नीति तथा योजना निर्माणमा समावेश हुनु महत्वपूर्ण उपलब्धि हो र यसले दीगो परिवर्तनका लागि मार्गदर्शन गर्छ उहाँले भन्नुभयो।

राजदूत पुहाक्काले महिनावारीका समयमा भेदभावरहित वातावरणमा बस्न पाउनु आधारभूत मानवअधिकार भएको स्पष्ट पार्नुभयो। महिनावारीका कारण महिला तथा किशोरीहरूलाई अलग बसाल्ने, विद्यालय तथा सामाजिक गतिविधिबाट टाढा राख्ने व्यवहारहरू लैंगिक हिंसाको रूप भएको उल्लेख गर्दै उहाँले यस्ता प्रथाहरू अन्त्य गर्न निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो। ‘सुरक्षित शौचालय, सफा पानी, गोपनियतायुक्त सुविधा र सक्षम वातावरण उपलब्ध गराउनु लैंगिक न्यायतर्फको महत्वपूर्ण कदम हो’ उहाँले भन्नुभयो।

कार्यक्रममा महिनावारीको समयमा महिलाहरूले भोग्नुपर्ने सामाजिक, सांस्कृतिक विभेद र यसले निम्त्याउने पीडालाई चित्रण गरी निर्माण गरिएको लघु चलचित्र ‘अदृश्य आँशु’ पनि सार्वजनिक गरिएको थियो। राजदूत पुहाक्काले उक्त चलचित्रले समुदायमा अझै लुकेर बसिरहेका भेदभाव र पीडाका कथाहरू उजागर गर्न मद्दत गरेको भन्दै यसको प्रशंसा गर्नुभयो। उहाँले दृश्यात्मक माध्यमहरूले भावना, अनुभूति र वास्तविकता प्रभावकारी ढंगले प्रस्तुत गर्ने हुँदा व्यवहार परिवर्तन र सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

‘सरकार, विकास साझेदार, नागरिक समाज तथा स्थानीय समुदायबीचको दिगो सहकार्य मार्फत लैंगिक समानतामा आधारित सुरक्षित र सम्मानजनक समाज निर्माण सम्भव हुनेछ’ उहाँले भन्नुभयो।

‘अदृश्य आँशु’ को लेखन तथा निर्देशन राजु तिर्वाले गर्नुभएको छ। उहाँ सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनामा लैंगिक समानता र सामाजिक समावेशीकरण विज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।

कार्यक्रममा महिनावारीको समयमा भोग्नुपरेका छुवाछुतजन्य व्यवहार, त्यसले पार्ने मानसिक, भौतिक समस्याहरु र महिनावारीको समयमा विना भेदभाव सम्मानजनक जीवन जिउने अवस्था सिर्जना गर्न क -कसको दायित्व के हुन सक्छ भन्ने बिषयमा प्यानल छलफल समेत गरिएको थियो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार