
काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले महिनावारीको समयमा हुने विभेद र कुसंस्कारले महिलाको स्वास्थ्य, आत्मसम्मान र अवसर पहुँचमा प्रत्यक्ष असर पार्दै समग्र विकासलाई रोक्ने प्रमुख कारक बनेको बताउनुभएको छ। उहाँले यस्ता सामाजिक व्यवहार केवल लैंगिक हिंसाको स्वरूप मात्र नभई देशको दीर्घकालीन आर्थिक तथा सामाजिक विकासका लागि पनि बाधक भएको बताउनुभयो।
१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गतको कार्यक्रममा ‘अदृश्य आँशु’ शीर्षकको लघु चलचित्र हेरेपछि महानिर्देशक श्रेष्ठले नेपाली समाज अझै पनि साना–तिना सामाजिक मुद्दामा जकडिएको उल्लेख गर्नुभयो। “हामी यस्तै साना कुरामा अल्झिरहने भएकाले ठूलो आर्थिक तथा सामाजिक विकासमा ध्यान दिन सकेका छैनौं,” उहाँले भन्नुभयो।
‘अदृश्य आँशु’ महिनावारीको समयमा महिलाहरूले भोग्नुपर्ने सामाजिक, सांस्कृतिक विभेद र यसले निम्त्याउने पीडालाई चित्रण गरी निर्माण गरिएको लघु चलचित्र हो।

श्रेष्ठले यस्ता भेदभावपूर्ण सामाजिक व्यवहार र अपूर्ण सामाजिक रूपान्तरणका कारण विकास साझेदार तथा दातृ राष्ट्रहरूले समेत आफ्नो कार्यक्रमहरू सामाजिक मुद्दामै केन्द्रित गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो। “हामीले मूल विकासका विषय अघि बढाउन सक्ने वातावरण बनाएको भए दातृ निकायहरूको प्राथमिकता पनि त्यतै हुन्थ्यो,” उहाँको भनाइ थियो।
महिनावारीलाई लाज, डर र निषेधका रूपमा हेर्ने प्रवृत्तिले महिलालाई विद्यालय, कार्यस्थल र नेतृत्व तहमा अवसरबाट वञ्चित गराउने, आत्मविश्वास कमजोर पार्ने तथा स्वास्थ्य जोखिम बढाउने गरेको महानिर्देशक श्रेष्ठले उल्लेख गर्नुभयो। “महिनावारी प्राकृतिक प्रक्रिया हो। यसलाई सम्मानपूर्वक स्वीकार नगरेसम्म लैंगिक समानता सम्भव हुँदैन,” उहाँले जोड दिनुभयो।

‘अदृश्य आँशु’ को लेखन तथा निर्देशन राजु तिर्वाले गर्नुभएको छ। उहाँ सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनामा लैंगिक समानता र सामाजिक समावेशीकरण विज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।
कार्यक्रममा महिनावारीको समयमा भोग्नुपरेका छुवाछुतजन्य व्यवहार, त्यसले पार्ने मानसिक, भौतिक समस्याहरु र महिनावारीको समयमा विना भेदभाव सम्मानजनक जीवन जिउने अवस्था सिर्जना गर्न क – कसको दायित्व के हुन सक्छ भन्ने बिषयमा प्यानल छलफल समेत गरिएको थियो।



402 पटक हेरिएको 

