
मकवानपुर : मकवानपुरको दुर्गम गाउँपालिका कैलाशको वडा नं. ६, ७, ८, ९ र १० मा पाँचवटा खानेपानी तथा सरसफाइ योजना निर्माण गर्न त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।
कैलाश गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) मा प्राथमिकीकरण अनुसार वडा नं. ६ को मरांङसिंह आगेटार खानेपानी, वडा नं. ७ को कोथलिटार वस्ताल खानेपानी, वडा नं. ८ को वाक्सिराङ माथिल्लो टोल खानेपानी योजना, वडा नं. ९ को घैराङ खानेपानी योजना र वडा नं. १० को थिङडाँडा खानेपानी तथा सरसफाइ योजना निर्माण गर्न ससम्झौता भएको हो ।
‘एक घर–एक धारा’ लक्ष्य सहित २८२ घरधुरीमा धारा जडान गर्ने उद्देश्यले गरिएको सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष लोकबहादुर मुक्तान, वाइन टु वाटरको तर्फबाट राष्ट्रिय निर्देशक निजन श्रेष्ठ र सम्बन्धित उपभोक्ता समितिका अध्यक्षहरुले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतामा उल्लेखित खानेपानी योजनाहरु निर्माणका लागि वाइन टु वाटरको ६५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत लगानी रहनेछ भने उपभोक्ताले १० प्रतिशत योगदान गर्नुपर्नेछ । सम्झौता अनुसार पाँचैवटा खानेपानी योजनाको कुल लागत ३ करोड ६७ लाख २८ हजार ५५८ रुपैयाँ ९२ पैसा रहेको छ ।
निर्माण हुने खानेपानी योजना र लागत

सम्झौता पत्रमा हस्ताक्षर गरेपछि गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले सम्झौता अन्तर्गत निर्माण हुने योजनाबाट स्थानीयवासीले सुरक्षित खानेपानी पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रत्येक घरमा धारा सँगै शौचालय अनिवार्य रहेकाले शौचालय नबनाएका उपभोक्ताले समेत अनिवार्य निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

संस्थाका राष्ट्रिय निर्देशक निजन श्रेष्ठले २०१६ सालदेखि खानेपानी क्षेत्रमा काम गर्दै आएको संस्थाले सुरक्षित पानीले स्वास्थ्य, सरसफाइ र आयआर्जनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। साथै, समृद्धि परियोजना अन्तर्गत पाँच पालिकामध्ये मकवानपुरको कैलाश गाउँपालिकामा पनि ३ वर्षका लागि योजनाबद्ध रूपमा काम अघि बढाइने जानकारी गराउनुभयो।
हस्ताक्षर कार्यक्रममा वाश प्राविधिक विज्ञ वासुदेव पाण्डे, Construction Quality Supervisor तेज बहादुर बोहरा, वाश सहजकर्त्ता सिन्धु बोहरा अवस्थी, सामुदायिक प्राविधिक बुद्धिपल्लव जोशी लगायत गाउँपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति थियो।



439 पटक हेरिएको 

