
गोरखा : गोरखाको गण्डकी गाउँपालिका–५ मा दिगो र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले १७ मिटर उचाइको बाँध निर्माण गर्न थालेको छ । जलवायु परिवर्तनका कारण अनियमित बन्दै गएको वर्षा प्रणालीलाई व्यवस्थापन गर्दै वर्षैभरि सुरक्षित र पर्याप्त पिउने पानी आपूर्ति गर्ने लक्ष्य सहित कुलोबाँध जलाशय खानेपानी आयोजना निर्माण थालिएको हो ।
बगेर खेर जाने पानी र वर्षात्को पानी संकलन गरी खानेपानी, सिँचाइ तथा भूमिगत पानीको पुनर्भरण गर्ने उद्देश्यले निर्माण भइरहेको यो आयोजना खानेपानी तथा ढल व्यवस्थापन विभागकै पहिलो जलाशययुक्त खानेपानी आयोजना हो । १७ मिटर उचाइ र ४३ मिटर लम्बाइको बाँध निर्माण गरी ठूलो जलाशय तयार गरिनेछ, जसले बस्ती नजिकै पानी भण्डारणको नयाँ अभ्यास सुरु गरेको विभागले जनाएको छ ।
जलवायु परिवर्तनका असरबाट जोगिन र त्यसअनुसार अनुकूलन गर्न जलाशययुक्त खानेपानी आयोजना महत्वपूर्ण विकल्प बनेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. कमलराज श्रेष्ठले बताउनुभयो । “जलवायु परिवर्तनका कारण पानी पर्ने ढाँचामा ठूलो फेरबदल आएको छ । छोटो समयमा धेरै पानी पर्दा जमिनले सोस्न नपाई बगेर जाने र बाढी–पहिरोको जोखिम बढिरहेको छ,” उहाँले भन्नुभयो, “यस्ता समस्यालाई न्यूनीकरण गर्न बस्ती नजिकै ठूलो परिमाणमा वर्षात्को पानी संकलन, प्रशोधन र वितरण गर्न जलाशययुक्त खानेपानी आयोजना सुरु गरिएको हो ।”
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
उहाँका अनुसार यो आयोजनाबाट भूमिगत पानीको पुनर्भरण हुने, पानीका मूलहरू जोगिने, मूल सुकेर खानेपानी अभाव झेलिरहेका बस्तीमा सहज आपूर्ति गर्न सकिने तथा टाढाबाट लिफ्टिङ गर्दा लाग्ने लागत समेत घट्ने अपेक्षा गरिएको छ ।
“सात–आठ स्टेजसम्म पम्पिङ गरेर पानी वितरण गर्नु दिगो समाधान होइन,” महानिर्देशक श्रेष्ठले भन्नुभयो, “राज्यले जलाशययुक्त खानेपानी आयोजनालाई नीतिगत रूपमा प्रबर्द्धन गर्न सके यो बहुउपयोगी र दीगो विकल्प बन्न सक्छ ।”
कुलोबाँध, चौबीसै घण्टा बगिरहने सानो जलस्रोत हो, जसको पानी हाल पनि स्थानीयले विभिन्न प्रयोजनका लागि उपयोग गर्दै आएका छन् । यस स्रोत र वर्षात्को पानी संकलन गर्न १२.५ मिटर चौडाइको जगमा १७ मिटर उचाइको बाँध निर्माण गरिनेछ ।
बाँध निर्माणपछि करिब १२० मिटर लामो जलाशय बन्नेछ, जहाँ ५८ लाख ९८ हजार ६ सय लिटर पानी संकलन हुनेछ । प्रशोधनपछि उक्त पानी गण्डकी गाउँपालिका–५ का एक हजारभन्दा बढी जनसंख्यालाई वितरण गर्ने योजना छ ।
कुलोबाँध जलाशययुक्त खानेपानी आयोजनाको ठेक्का रकम ९ करोड २८ लाख ५५ हजार १३३ रुपैयाँ १८ पैसा रहेको छ । आयोजना सम्पन्न भएपछि जलस्रोतहरू बढ्ने, थप क्षेत्रसम्म पानी आपूर्ति विस्तार हुने र वडा नं. ५ का बासिन्दाले सुरक्षित तथा पर्याप्त पिउने पानी उपभोग गर्न पाउने अपेक्षा गरिएको छ ।


209 पटक हेरिएको 

