
देवचुली : नवलपुरको देवचुली नगरपालिकाका तीनवटा विद्यालयमा सेनेटरी प्याड व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले इन्सिनिरेटर मेसिन जडान गरिएको छ । किशोरीहरूको महिनावारी स्वच्छता व्यवस्थापनलाई प्रभावकारी बनाउँदै विद्यालयमै मर्यादित र सुरक्षित वातावरण निर्माण गर्ने लक्ष्यसहित वास नमुना गाउँ परियोजनाले देवचुली नगरपालिकाको सहकार्यमा मेसिन जडान गरेको हो।
परियोजनाअन्तर्गत देवचुली–५, स्थित सकलादेवी माध्यमिक विद्यालय, तथा देवचुली–६, स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र बालकिरण आधारभूत विद्यालयमा सेनेटरी प्याड नष्ट गर्ने इन्सिनिरेटर मेसिन जडान गरिएको परियोजना संयोजक प्रवीण घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार प्रयोग भइसकेका सेनेटरी प्याड शौचालयमा थुपारिनु र व्यवस्थापन नहुँदा फोहोर, दुर्गन्ध तथा संक्रमणको जोखिम बढ्ने भएकाले समाधानस्वरूप विद्यालयस्तरमै मेसिन जडान गरिएको हो।
विद्युतबाट सञ्चालन हुने उक्त मेसिनले प्रयोग भइसकेका सेनेटरी प्याडलाई उच्च तापक्रममा जलाएर पूर्ण रूपमा नष्ट गर्ने भएकाले दुर्गन्ध न्यून हुने, जीवाणु तथा संक्रमण जोखिम कम हुने र विद्यालय परिसर स्वच्छ राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। मेसिनमा ढोका नखुली सञ्चालन नहुने सुरक्षा प्रणाली, संकेत बत्ती र ताप नियन्त्रण जडान गरिएको हुँदा प्रयोगमा सुरक्षा सुनिश्चित भएको परियोजनाले जनाएको छ।
मेसिनको प्रभावकारी प्रयोगका लागि विद्यालयका फोकल शिक्षकहरूलाई आवश्यक तालिम समेत प्रदान गरिएको छ। इन्सिनिरेटर स्थापना भएपछि महिनावारी अवधिमा किशोरी विद्यार्थीहरूलाई सहज, सुरक्षित र मर्यादित वातावरण मिलेको नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालयकी स्रोत शिक्षक तिलिजा गाहाले बताउनुभयो। उहाँका अनुसार यसले महिनावारीसँग जोडिएको लाज, संकोच र असहजता हटाउन मद्दत पुगेको छ।
“पहिले महिनावारीका कारण विद्यालय नआउने वा कक्षा छुटाउने विद्यार्थीहरू अहिले नियमित उपस्थित हुन थालेका छन्,” गाहाले बताउनुभयो। विद्यार्थीलाई मेसिन प्रयोग पद्दति, सरसफाइ तथा महिनावारी स्वच्छताबारे नियमित जानकारी गराइँदै आएको पनि उहाँले जानकारी दिनुभयो।
वास नमुना गाउँ परियोजनाले देवचुली–५ र ६ मा खानेपानी तथा सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरपालिकासँगको समन्वयमा खानेपानी संस्थाको सबलीकरण, मुहान संरक्षण तथा संवर्द्धन, सरसफाइ सचेतना र सुरक्षित स्वच्छता अभ्याससँग सम्बन्धित गतिविधि निरन्तर हुँदै आएको परियोजनाले जनाएको छ।


231 पटक हेरिएको 

