सल्यान : वनगाड कुपिण्डे नगरपालिकाभित्र सञ्चालित खानेपानी योजनाहरूको दिगोपना सुनिश्चित गर्ने उद्देश्यले आयोजित ‘जल कचहरी’ बाट २६ वटा खानेपानी उपभोक्ता समिति र नगरपालिका बीच मर्मत सम्भार सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
हिजो र आज सञ्चालन भएको जल कचहरीमा खानेपानी योजनाहरूको नियमित सञ्चालन, मर्मत सम्भार, वित्तीय व्यवस्थापन र संस्थागत सुशासनका विषयमा छलफल गरिएको थियो। छलफलपछि नगरपालिकाले तयार पारेको मर्मत सम्भार कार्यविधि अनुसार २६ वटा उपभोक्ता समिति र नगरपालिकाबीच औपचारिक समझदारी गरिएको हो।
नगरपालिकाका प्रतिनिधिहरूले खानेपानी सेवा दीगो बनाउन उपभोक्ता समिति र स्थानीय सरकार बीच स्पष्ट भूमिका बाँडफाँड आवश्यक रहेको बताउँदै अब मर्मत सम्भारको काम व्यवस्थित र पारदर्शी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।
जल कचहरी मार्फत उपभोक्ता समितिहरूलाई प्राविधिक, व्यवस्थापकीय तथा सुशासन सम्बन्धी पक्षमा थप सशक्त बनाउने उद्देश्य राखिएको नगरपालिकाको WASH इकाईले जनाएको छ।
मर्मत सम्भार कार्यविधिमा के छ ?
√ प्रति धारा रु ५०० भन्दा कम लागत लाग्ने मर्मत सम्भार कार्य उपभोक्ता समितिले आफैं अगाडि बढाउने।
√ प्रति धारा रु ५०१ देखि रु १००० सम्म लाग्ने कार्यमा ७०% उपभोक्ताले र ३०% पालिकाले खर्च व्यहोर्ने।
√ प्रति धारा रु १००० भन्दा बढी लाग्ने कार्यमा ५०/५० को लागत साझेदारी रहनेछ।
√ ठूलो मर्मत वा पुनःस्थापना कार्यमा ८०% बजेट संघ/प्रदेश/गाउँपालिका मार्फत र २०% उपभोक्ताबाट जुटाइनेछ।
यस समझदारीपछि नगरभित्रका खानेपानी योजनाहरूको दीगो सञ्चालनमा नयाँ आधार तयार भएको अपेक्षा गरिएको छ।
वनगाड कुपिण्डे नगरपालिकाको WASH इकाईको आयोजनामा आज सम्पन्न जल कचहरीमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, १२ वटै वडाका वडा अध्यक्षहरू, सुशासन विज्ञ, WASH सल्लाहकार, २६ वटा खानेपानी उपभोक्ता समिति, ग्रामीण मर्मत सम्भार कार्यकर्ता तथा WASH इकाईका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


793 पटक हेरिएको 


