सुस्वा आयोजना अन्तर्गत ६ स्थानीय तहमा सिकाइ आदान–प्रदान कार्यक्रम

  वास खबर संवाददाता  360 पटक हेरिएको

सुर्खेत: सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) कार्यरत स्थानीय तहहरूमा ६ दिनसम्म सञ्चालन गरिएको सिकाइ आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतका दुई शाखाका सरकारी अधिकारीहरूको टोलीले भेरीगंगा नगरपालिका (सुर्खेत), नलगाड नगरपालिका (जाजरकोट), बनगाड कुपिण्डे नगरपालिका र बागचौर नगरपालिका (सल्यान), नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिका (दैलेख) गरी ६ वटा स्थानीय तहको स्थलगत भ्रमण गर्दै सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको हो।

सिकाइ आदान–प्रदानका क्रममा दुई स्थानीय तहमा फिनल्याण्ड राजदूतावासका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

केन्द्रीय तहको संघीय अनुगमन तथा सिकाइ टोलीले सुस्वा आयोजना कार्यरत स्थानीय तहहरूमा देखिएका विभिन्न असल अभ्यासहरूको प्रशंसा गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको संस्थागत संरचना थप सुदृढ बनाउन विभिन्न रचनात्मक सुझावहरू प्रदान गरेको छ।

टोलीले ग्रामीण खानेपानी योजनाहरूको दिगोपन र कार्यक्षमता अभिवृद्धिका लागि सेवा सहायता केन्द्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय तहको पहलमा प्रभावकारी व्यवसायिक कार्ययोजना सहितको नियमन आवश्यक रहेको औंल्याएको छ।

साथै, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको व्यवसायिक मोडालिटी सुदृढ गर्ने, योजनातहमा पालिकास्तरीय ग्रामीण मर्मत सम्भार कार्यकर्ताहरूलाई सूचीकृत गरी पेशागत सुनिश्चितताको निरन्तरता दिने, तथा स्थानीय पालिकाको नेतृत्वमा समन्वय र पहुँच मजबुत बनाउनुपर्ने विषयमा समेत जोड दिइएको छ।

यो सिकाइ आदान–प्रदान तथा सुस्वा आयोजनाको गतिविधिको अनुगमन तथा लेखाजोखा टोलीमा खानेपानी तथा ढल व्यवस्थापन विभागका सेवा नियमन शाखाका प्रमुख सिडिई डा.रजित ओझा र सिडिई रविन्द्र पोखरेल तथा फिनल्याण्ड राजदूतका विशेष सल्लाहकार डा. पल्लब राज नेपालको सहभागिता रहेको थियो।

सिकाइ आदान प्रदानका क्रममा देखिएका असल अभ्यास, अवसर, चुनौती तथा कमजोरीहरू समेटिएको विस्तृत प्रतिवेदन निकट भविष्यमा विभागमा पेश गरिने जानकारी दिइएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार